आईजीपी खनालद्धारा दर्ज्यानी चिन्ह सुशोभन



काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७५ पुस १८ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरु सांगठनिक नीति र दृष्टिकोणलाई प्राथमिकतामा राखेर प्रचलित ऐन कानुनको अक्षरस पालना गर्दै राष्ट्र, समाज र नागरिकको सेवामा निष्ठापूर्वक समर्पित हुनुपर्ने बताउनुभयो । हरेक प्रहरी कर्मचारीले निस्वार्थभाव, सेवाभाव, समर्पणभावले इमानदारी र पूर्वाग्रहरहित तरिकाले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले संगठनको मेरुदण्डको रुपमा रहेको प्रहरी निरीक्षक दर्जा, नागरिकले समेत बढी विश्‍वास गर्ने भएकोले त्यो विश्वासलाई कायम राख्न आफ्नो सोचमा परिवर्तन गरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । अनेक दुस्ख र पसिना बगाई गरेको काम यदाकदा हुने गलत अभ्यास र व्यवहारले ओझेलमा पर्ने भएकोले त्रुटी, गल्ती सच्याएर उत्कृष्ट काम गर्दै संगठनको श्रीवृद्धि बढाउनेतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी संगठन अझै राम्रो बनाउन, स्तरोन्नती गर्न र नियमित कामको साथै ठोस उपलब्धी हासिल गर्न हाल धेरै कुरा परिवर्तन भइरहेको चर्चा गर्नुहुँदै प्रहरी महानिरीक्षक खनालले संगठनले सुरु गरेको कामलाई सफल पार्न निर्भिक र निडर भई काम गर्नुपर्ने बताउनुभयो । असल व्यवहार, बोलीवचन, शिष्टता र दुरुस्त पोसाकले कार्यदक्षता झल्काउने भएकोले व्यक्तिगत स्मार्टनेशतर्फ समेत उचित विचार पुर्‍याउन समेत उहाँले आग्रह गर्नुभयो ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह, नागरिक समाज, विद्यालयस्तरसम्म गएर नजिकबाट काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सुरक्षा नभई विकास हुँदैन भन्ने रुपमा जनस्तरमा बुझाउन अझ बढी क्रियाशिल भएर काम गर्न निर्देशन दिनुभयो । कार्यालयमा आउने सेवाग्राही, समुदायसँग सुमधुर सम्बन्ध स्थापना गर्ने तथा अपराधीसँग भिड्न भने पछि पर्न नहुने चर्चा गर्नुहुँदै उहाँले अझै बढी स्पिरिडमा अगाडि बढ्नुपर्नेतर्फ जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा अन्य निकायसँग समन्वय गर्दै स्वस्थ्य वातावरणमा रहेर राम्रोसँग काम गर्नुपर्नेमा जोड दिनुहुँदै संगठनको मर्यादा बढाउनेतर्फ लाग्न आग्रह गर्नुभयो । कार्यालय व्यवस्थापन, शौचालय सरसफाई लगायत सबै आयाम पूरा गर्न र जति सकिन्छ त्यति राम्रो गर्नेतर्फ मनन गर्न समेत उहाँले सचेत गराउनुभयो ।

जेष्ठता, कामको मूल्यांकन लगायतका मापदण्डको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संख्या कम भएको कारण राम्रो अधिकृत पनि छुट्न सक्नेतर्फ संकेत गर्नुभयो । उहाँले पदोन्नतिले निकै ठूलो जिम्मेवारी दिएकोले कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संगठनले लिएको नीतिलाई दृढतापूर्व कार्यान्वयन गर्न कटिबद्ध हुनुपर्छ भन्नुभयो ।

उक्त अवसरमा पदोन्नती भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी निरीक्षक कृष्णबहादुर धितालले जिम्मेवारी थप भएको अवस्थामा संगठनको नीति अनुरुप झनै बढी जिम्मेवार भई संगठनको गरिमालाई उच्च राख्न अझ कर्तव्यनिष्ठ भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पदोन्नति भएका ५८ जना प्रहरी निरीक्षकमध्ये ५६ जना उक्त कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ भने १ जना हाल संयुक्त राष्ट्र संघीय मिशनमा कार्यरत र १ जना स्वास्थ्य उपचारको क्रममा रहनुभएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्