दक्षिण चिनाउदै दक्षिणकाली नगर



काठमाडौको दक्षिण भेगमा अवस्थित महत्वर्पूण धार्मिक गन्तव्य दक्षिणकाली र आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । धार्मिक, प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक स्थललाई दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र र आसपासका पर्यटकीय गन्तव्यको प्रचार प्रसारका लागि दक्षिणकाली नगर पर्यटन प्रर्वद्धन समिति गठन गरेको छ । नगर प्रमुख मोहन वस्नेतको संयोजकत्वमा समिति गठन गरिएको हो । ‘यसअघि चिनिएका मात्रै होइन, प्रचारमा आउन नसकेका अन्य धेरै गन्तव्यकलाई चिनाउन÷बुझाउन समिति क्रियाशिल रहने छ’–नगर प्रमुख वस्नेतले भने ।

२ हजार २ सय ७८ मिटरको उचाईमा अवस्थित काठमाडौको सवैभन्दा अग्लो वाणासुर डाँडा, पञ्जल गणेश, कटुवाल दह, मनोरम हात्तिवन डाँडा समेत सोही नगरमा पर्छन् । एसियाको दोस्रो तथा नेपालको प्रथम ऐतिहासिक जलविद्युत आयोजना चन्द्रज्योती जलविद्युत गृह यो नगरको अर्को सान हो । सो जलविद्युत गृहलाई ऐतिहासिक अवलोकनस्थलमा मात्र सीमित नराखी पर्यटकीय स्थलका रुपमा विकास गर्ने नगरपालिकाको योजना छ । चन्द्रज्योती विद्युत गृह जलविद्युतमा चासो राख्ने जो कोही लागि उपयोगी हुने भएकाले अध्ययन अनुसन्धानको थलो बनाउन सकिने बस्नेतको तर्क छ ।

साविकका चाल्नाखेल, सेतिदेवि, शेषनारायण, दक्षिणकाली, टल्कु, डुडेचौर र छैमले गाविसलाई समेटेर ४ वर्ष अघि दक्षिणकाली नगरपालिका स्थापना भएको हो । पर्यटन, कृषि, उद्योग जस्ता क्षेत्रमा प्रचुर संभावना बोकेको दक्षिणकाली पूर्वमा ललितपुर, उत्तरमा किर्तिपुर र दक्षिणमा मकवानपुरसँग जोडिन्छ । नगरभित्रका ऐतिहासिक र धार्मिकस्थलमा वर्षेनी हजारौ आन्तरिक र बाह्य पर्यटकको चहल–पहल हुने गरेकोमा अन्य गन्तव्यमा पनि आवश्यक पूर्वाधार तयार गरिएको खण्डमा आगन्तुकको चाप बढ्ने नगर उपप्रमुख बसन्ती तामाङ्ग (डंगोल) बताउछिन् ।

काठमाडौंबाट करिव ३ किलोमिटर दुरीमा रहेको बोसन डाडाँमा एकै पटक ४ वटा होमस्टे सञ्चालन गरि आन्तरिक तथा बाह्य पर्यटनको खोजी गर्न बोसन महोत्सवको तयारी भइरहेको उनले बताइन् । आसपासका डाडाँकाडामा हाइकिङ रुटलाई व्यवस्थित गर्दै पर्या–पर्यटनका योजना छिटै सार्वजनिक हुने डंगोल जानकारी दिइन् । यस नगरमा हिन्दु र बुद्ध धर्मवलम्वीका बाक्लै धार्मिक स्थल छन् । यो क्षेत्र उपत्यकाका ४ नारायण मध्येका शेषनारायण मन्दिर, गोरखनाथ बाबा, पौराणिक, धार्मिक इतिहास भगवान श्रीकृष्णको चरण स्पर्श भएको पूण्य भूमिमा परिचित छ ।

बौद्धग्रन्थ अनुसार वौद्धीकत्व पद्म सम्भवत्यको तपस्या गरेको असुरा गुफाको ह्याङल्हासो गुफा पनि यही क्षेत्रमा छन् । हिन्दु धर्मावालम्बीका लागी प्रसिद्ध दक्षिणकाली मन्दिर, दक्षिण मनकामनाको मन्दिर, महालक्ष्मी मन्दिरसँगै प्राचिन फर्पिङ्ग वस्ती तथा विभिन्न जात्राले नगरको छुट्टै पहिचान झल्कएको छ । धार्मिक र साँस्कृतिक महत्वका श्री हरिशंखर यात्रा र श्री वज्रसंगिनी जात्रा, कार्तिक जात्रा पनि यो नगरको अर्को आर्कषण हो । खेलकुदको विकास गर्न रँगशालाको स्थापना गर्दैै पुरातात्विक उषामयाको दरवार वाणासुरको दरवारलाई समेत परिचित गराउन सँग्राहलयको रुपमा लैजाने योजना रहेको छ । मुलुकमै प्रख्यात नास्पाति र लप्सी खेतीको पकेट क्षेत्र रहेकाले यस्ता उत्पादनलाई अन्यत्र चिनाउन प्रशोधन गरी विविध परिकार बनाउन सरोकारवालासँग छलफल भइरहेको नगर प्रमुख बस्नेतले बताए ।

आन्तरिक र वाह्य पर्यटकको चहल–पहल बढाउन दक्षिणकाली मन्दिरदेखि चौकोटदेवी मन्दिरसम्म केवलकार परियोजनाको गृहकार्य भइरहेको उनले जानकारी दिए । बस्नेतका अनुसार करिव तीन अर्ब रुपियाँ लगानीमा निर्माण हुने केवलकारको संभाव्यता अध्ययन सम्पन्न भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नगरका पर्यटकीय गतिविधी प्रवद्र्धन गर्न राष्ट्रिय योजना आयोगसँगको हातेमालो आवश्यक रहेकाले भोली शुक्रवार आयोग पदाधिकारीसँग छलफल कार्यक्रम तय गरिएको समितिका सदस्य एवं प्रवक्ता दीपक लामिछानेले बताए ।  

प्रतिक्रिया दिनुहोस्