अंग्रेजी नयाँ बर्षको गन्तव्यः ३५ सय पर्यटक कालिञ्चोक पुगे



चिरञ्जीवी मास्के, दोलखा
अंग्रेजी नयाँ बर्ष सन् २०१९ को अघिल्लो दिन सोमवार दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरमा पर्यटकहरुको ठूलै भीड लागेको छ । कालिञ्चोकको प्रस्तान विन्दु कुरीका सबै होटलहरु बुक भैसकेकोले झण्डै ३५ सय पर्यटकले कालिञ्चोकमा अंग्रेजी नयाँ बर्ष मनाउने स्थानिय होटल व्यवसायीहरु बताउछन् ।

कालिञ्चोकको कुरीमा साना ठूला गरी ४० वटा होटलहरु रहेका छन् । सबै होटलहरुमा गरी झण्डै ३५ सय मानिस अट्न सक्छन् । अंग्रेजी नयाँ बर्षको अघिल्लो दिन सोमवारसम्म सबै होटलहरु बुक भै सकेकोले प्रसिद्ध कालिञ्चोक मन्दिरमा कम्तिमा ३५ सय पर्यटकले नयाँ बर्ष मनाउने अनुमान गरिएको टसिदेले होटलका प्रबन्धक सोनाम शेर्पा बताउछन् । अझ कतिपय पर्यटक नयाँ बर्षकै दिन आउने भएकोले यो संख्या बढ्न सक्ने शेर्पाको भनाई छ ।

धार्मिक रुपमा अत्यन्त महत्व रहेको, प्राकृतिक सुन्दरताले भरीएको र हिमपातले थप आकर्षण गर्ने भएकोले अग्रेजी नयाँ बर्षको लागि धेरै पर्यटकले कालिञ्चोकलाई आफ्नो गन्तव्यको रुपमा रोजेको स्थानिय होटल व्यवसायीहरुको भनाई छ ।

कुरीमा रहेको होटल सुनपातीका प्रोपाईटर हरि ओली एक हप्ता अघि देखिनै पर्यटकहरुले नयाँ बर्षको लागि होटल बुक गरेको बताउछन् । ८८ जनाको क्षमता भएको होटल सुनपातीका सबै कोठाहरु बुक भै सकेका छन् । कालिञ्चोकमा अंग्रेजी नयाँ बर्ष मनाउन विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, सर्लाहि र दोलखाकै बिभिन्न ठाँउका पर्यटकहरुले होटल बुक गरेको ओलीले बताए ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किम्वदन्ति अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ । कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास रहदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेर जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ । कालिञ्चोकको दर्शन ग¥यो भने मागेको कुरा पुरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा बृद्धि हुने जनविश्वास समेत रहदै आएको छ ।

पर्यटकहरुलाई आकर्षित गर्न र अंग्रेजी नयाँ बर्षलाई रमाईलोसंग मनाउन स्थानिय होटल व्यवसायीहरुले डिजे, कन्सर्ट जस्ता सांसकृतिक कार्यक्रमहरुको समेत आयोजना गर्ने व्यवस्था गरेको छ । कुरीमा रहेको सुनपाती, कन्ट्रि भिल्ला, हर्स फायर साईट लगायतका ठूला होटलहरुले अंग्रेजी नयाँ बर्षमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी गरेका छन् ।

काठमाडौँबाट १३३ किलोमीटरको दुरीमा रहेको दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमीटर कच्चीबाटोको यात्रा तय गरेपछि कालिञ्चोकको कुरी पुग्न सकिन्छ । कुरीबाट करिब ४५ मिनेटको पैदल यात्रा पछि कालिञ्चोक मन्दिर पुगिन्छ । अहिले कुरीबाट कालिञ्चोक केवलकार सञ्चालनमा आएकोले पर्यटकहरुलाई थप सहज भएको छ । गत बर्ष अंग्रेजी नयाँ बर्ष मनाउन १५÷१६ सय पर्यटक कालिञ्चोक पुगेकोमा यो बर्ष केवुलकारकै कारण पर्यटकको संख्या दोबबर भन्दा बढी भएको सुनपाती होटलका प्रबन्धक ओलीको भनाई छ ।

कालिञ्चोक मन्दिरमा दशै, जनै पूर्णीमा जस्ता पर्वहरुमा मेला समेत लाग्ने गरेको छ । करिब एक सय मीटरको सेरोफेरोमा रहेको कालिञ्चोक मन्दिरको टाँपुमा मेलाको समयमा हजारौ मानिस अटाउने विशेषता रहेको स्थानिय बृद्धहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्