मध्यपश्चिमको मौलिक संस्कृति जोगाउँदै तिलक



धनवीर दाहाल, रुकुम ।
मध्यपश्चिमका लोप हुन लागेका मौलिक संस्कतिको जर्गेना गर्न यो क्षेत्रका कलाकार लाग्नु पर्ने भन्दै लोक गायक तिलक परियारले गित संगितको माध्यमबाटै सो अभियानमा जुटेका छन् । रुकुम जिल्लाको सानीभेरी गाँउपालिका मसारीमा जन्मिएका तिलक काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर गायन क्षेत्रमा निरन्तर रुपमा लागिरहेका छन् । समाजको यथार्थ कुरा, सुःख–दुःख, मायाँ प्रीति आदिलाई आधार मानेर रचना गरिएका गीतलाई नै लोकगीत हो भन्न रुचाउने गायक उनले गायन पेशा संगसंगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिईरहेका छन् ।

२०६५ सालमा लोक तथा दोहोरी गीतको क्षेत्रमा प्रबेश गरेका उनले पहिलो प्रस्तुतीको रुपमा वि. सं. २०६६ सालमा दुःख पाईछौरे भन्ने बोलको लोकदोहोरी गीत बजारमा ल्याएका थिए । वि. सं. २०६७ साल पुष महिनामा रेडियो नेपाल बाट स्वर पास गरिसकेका परियारले हाल सम्म तीन दर्जन भन्दा बढी गीतमा आवाज दिई सकेका छन् ।

उनीद्धारा स्वरबद्ध गरिएका सबै गीतहरु दर्शका र स्रोताको ढुकढुकीमा बस्न सफल गीत हुन् । दुःख पाईछौरे, सूनको भमरा, सुन हजुर, रिम्ना दोभान, क्या राम्री रैछौनी, तिम्रो मन दुख्न दिन्न सानु, जे गर्नु त यहाँ धनले गर्दो रहेछ जस्ता सफल गीत गायक तिलक परियारकै आवाजमा सजिएका छन् ।

आफूले आवाज दिएका लोक तथा दोहोरी गीतहरु दर्शक स्रोताले औधी मन पराएर सबै गीतलाई समान न्याय दिलाए जस्तो अनुभूति आफ्नो मनमा संगालिरहेको गायक परियार बताउँछन् । सोही क्रममा गायक तिलक परियारलाई लोकदोहोरी गायकको रुपमा सबै भन्दा बढी चिनाउने कुनै एक गीतको नाम लिनुस् भन्दा उन्ले “सुनको भमरा” नामक बोलको गीतलाई नै सम्झिए ।

खास गरेर सुनको भमरा गीतले मध्यपश्चिम र रुकुम जिल्लाको भौगोलिक परिवेश, चाडपर्व, संस्कार र यहाँको संस्कृति लगायत विविध कुराको यथार्थतालाई वर्णन गरेर गीत मार्फत नयाँ सन्देश दिन खोजेकोले वास्तवमा यो गीतलाई सबैले मन पराएको उनले बताए ।

गायक परियारले पहिलेका गीत समाजका लागि यथार्थ सन्देश दिने खालका भएको तर अहिलेका लोक गीत केवल व्यवसायिक रचनामा आधारित भएको बताए । पहिलेका गीतमा ठेट लोक बाजाहरु (मादल, बाँसुरी र सारङ्गी) को प्रयोग हुँदा ती गीतमा समेटिएका शब्द र भावले गर्दा पुराना लोकगीत सबैले मन पराउँथ्ये ।

तर अहिले ठेट बाजा संग संगै विदेशी बाजाहरु (गितार, सेक्सोफोन र भ्वाईलिन) आदिको प्रयोगको विकास भएर पनि अहिलेका गीतहरुमा वास्तविक लोकगीतको भाव नदेखिएको उनी बताउँछन् । समयको माग अनुसार प्रविधिको विकास हुनु स्वभाविक हो तरपनि पछिल्लो समय गीत संगीतमा देखिएको अस्वस्थ प्रर्तिस्पर्धाले गीत संगीतको क्षेत्रमा केही जटिल समस्याहरु थपिएको गायक परियार बताउँछन् ।

कतिपय अवस्थामा कलाकारलाई देशका गहना हुन् भनेर भनिन्छ नी भन्दै गर्दा गायक तिलक परियार यो कुरालाई स्वीकार गर्दैनन् । कलाकार मन परेको बेला प्रयोग हुने र अरु बेला बाकसमा थन्किने गहना होईनन् । गहना भनेको त चाडपर्व र खुसीयालीमा मात्रै प्रयोग हुन्छ ।

त्यसैले कलाकारलाई गहनाको रुपमा सामान्यीकरण गर्नु भन्दा पनि देशको खम्बा र राष्ट्रिय धरोहरको रुपमा लिनुपर्ने उनी बताउँछन् । साथै कलाकारले सुःख दुःखमा समाजको यथार्थतालाई बोल्दै समग्र देशको गतिबिधिलाई समेत हरपल माथि उठाउन गीत संगीत मार्फत केही योगदान दिन सक्ने भएकोले कलाकारले पनि देशलाई परिवर्तन गर्न सक्ने गायक परियार बताउँछन् । रुकुम जिल्ला लोकगीतको उर्वर भूमि भएको र मध्यपश्चिम तथा राप्ती अञ्चलमा सिङ्गारु, टप्पा, पैसारु लगायत अन्य स्थानिय गीतका भाकाले आफ्नो मनमुटु छोएको हुँदा लोकगीतको क्षेत्रलाई नै जीन्दगीको एक सफल पाटो सम्झेर लाकदोहोरी गीतको साँगीतिक क्षेत्रलाई रोज्न पुगेको गायक परियारले बताए । साथै गायक परियार लोकगीतमा लाग्नुको कारण आफु गायक बन्नु र धेरै पैसा कमाउनका लागि नभई नेपाली लोक तथा दोहोरी गीतलाई संरक्षण र प्रवद्र्धन गरी आफ्नो नाम सबै सामु चिनाउनु उन्को मुख्य उदेश्य रहेको छ ।

कलाकारिता क्षेत्रको प्रवेशले आफू जन्मेको प्यारो देश नेपालको थुप्रै ठाउँमा जान पाउँदा साँच्चिकै दर्शक–स्रोताको अथाह मायाँ पाउँनुले आफ्नो लागि यो क्षेत्र जीवनको पहिलो रोजाई भएको र यसैबाट आफ्नो जिन्दगीको सुखद् भविष्य निर्माण गर्नेमा उनी विश्वस्त छन् । पछिल्लो समय गीत संगीतको क्षेत्रमा प्रबेश गर्नेको लहर संगै एकाएक हराउने परिपाटी कायमै रहेको अवस्थालाई राम्रो संग बुझ्न सक्ने गायक परियारको अबको बाँकी योजना भने गीत संगीतलाई कहिल्यै नछोड्ने बरु जस्तोसुकै अवस्थामा पनि सशक्त ढंगले यसै क्षेत्रमा लागिरहने उन्को सोचाई छ ।

वषौंदेखि देशको निम्ति कलाकारले अतुलनिय योगदान दिंदै आएकाले कलाकारलाई पनि राज्यले हेर्ने दृष्टिकोणमा समेत केही परिवर्तन आउनुपर्ने र तत्काल राजयले कलाकारका लागि छुट्टै नीति नियम बनाउन आवश्यक रहेको गायक परियारले औंल्याए । त्यति मात्र नभई कलाकारलाई अब राज्यले देशको पाँचौ अंगको रुपमा समेट्नु पर्दछ भन्ने उन्को भनाई छ ।

जस्को तात्पर्य आज कलाकारका सिर्जना सबैले निःशुल्क सुन्ने र हेर्ने भएकोले पनि यो क्षेत्रमा टिक्न एकदमै गाह्रो भएकोले मारमा परेका कलाकारका निम्ति राज्यको ध्यान जानु उपयुक्त रहेको गायक परियारको भनाई छ । तबमात्र नेपाली गीत संगीतमा टिकिरहन सजिलो हुने र आउने पुस्तालाई पनि थप प्रेरणा मिल्न सक्ने उनले बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौ सहकोषाध्यक्ष,राप्ती समाज काठमाडौ केन्द्रिय सदस्य,रुकुम कला साँस्कृतिक मञ्च काठमाडौ केन्द्रिय महासचिव लगायतमा आवद्ध परियार देशकै गहनाको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्