अत्याधुनिक शौचालय बन्ने



ईश्वरराज ढकाल, काठमाडौं
व्यवस्थित शौचालयको अभावमा राजधानीका पर्यटक र बटुवालाई समस्या परेको व्यापक गुनासो आएपछि काठमाडौं महानगरपालिकाले अत्याधुनिक पोर्टेबल शौचालय निर्माण गर्ने भएको छ।

चिनियाँ मोडलका ती शौचालय राजधानीको अति व्यस्त मानिएका बानेश्वरचोक, कलंकी, त्रिपुरेश्वर, माछापोखरी, चाबहिल र रत्नपार्क क्षेत्रमा राख्ने तयारी गरेको छ। कामपाले सार्वजनिक निजी साझेदारी कार्यक्रम (पीपीपीयू)अन्तर्गत परीक्षणका रूपमा ती स्थानहरूमा पोर्टेबल शौचालय राख्ने तयारी गरेको हो।

पीपीपीयू एकाइका प्रमुख निर्देशक महेश काफ्लेले बोकेर एक स्थानबाट अर्को स्थानमा सजिलै लैजान मिल्ने यस्तो शौचालय पहिलोपटक निर्माण गर्न लागिएको जानकारी दिनुभयो। परीक्षणका रूपमा ६ स्थानमा राखेपछि अन्य स्थानमा राख्ने योजना तय गरिने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले अन्य स्थानमा पनि राख्ने विषयमा विभिन्न निकायसँग छलफल गरिरहेका छौं। कामपाले विभिन्न समयमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भने तापनि सफल हुन सकेको थिएन।’

अति सानो स्थान भए पुग्ने र सजिलैसँग एक स्थानबाट अर्को स्थानमा लैजान सक्ने भएकाले कामपाले तत्काल पोर्टेबल शौचालय राख्न लागेको कामपाको भनाइ छ।
हाल राख्न लागेको सबै शौचालय चीनबाट ल्याइने तयारी भइरहेको एकाइ प्रमुख काफ्लेले जानकारी दिनुभयो। रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएको सो शौचालय धेरै टिकाउ हुनुका साथै सूर्यको हानिकारक यूभी विकिरणबाट समेत सुरक्षित रहन्छ। एकाइका प्रमुख काफ्लेका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको शौचालयको तौल १ सय १० केजी रहेको छ।

यसलाई सजिलै बोकेर लैजान सकिन्छ। यो शौचालयको सिटको उचाइ ४ सय ५० मिमि रहेको छ। शौचालयमा १ सय ६० लिटर पानी र २ सय ९० लिटर फोहोर ट्याङ्कीको व्यवस्था गरिएको हुन्छ।

यसमा सौर्य ऊर्जाबाट चल्ने बत्ती तथा भेन्टिलेसन फ्यानहरू जडान गरिएको हुन्छ। पुरुषहरूको लागि युरिनल जडान गरिएको हुन्छ। शौचालयभित्र हात धुने बेसिन, ट्वाइलेट पेपर स्ट्यान्ड, ऐनासमेत जडान गरिएको हुन्छ। एकाइले निजी क्षेत्रसँग समन्वय गर्ने गरी अन्य स्थानमा समेत शौचालय राख्ने तयारी गरिरहेको छ।
कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगर क्षेत्रभित्रका मुख्य स्थानमा शौचालय राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। परीक्षणका रूपमा अहिले ६ स्थान र त्यसपछि अन्य स्थानमा राख्नेगरी अध्ययन भइरहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्