म्याद गुज्रेको चामल फिर्ता, स्थानीय बासी आक्रोशित



 

रुकुम । खाद्य संस्थान रुकुमले जिल्लाको आठबीसकोट नगरपालिकामा अनुदानमा पठाएको चामल म्याद गुज्रिएको फेला परेको छ ।

नगरपालिका–१ र २ स्यालाखदीमा पठाएको चामलको म्याद गुज्रिएको भन्दै स्थानीयवासीले उक्त चामल फिर्ता पठाएका छन् ।

स्थानीयले म्याद सकिएको ४० क्विन्टल चामल फिर्ता पठाएका हुन् । सो चामललाई आज जिल्ला खाद्य संस्थानमा पु¥याइएको छ ।

स्यालाखदीका लागि पठाइएको ४० क्विन्टल चामल म्याद सकिएको पाइएको वडा ३ का वडाध्यक्ष देवबहादुर यरीले जानकारी दिनुभयो । “गाउँमा आएको चामल लिन गएका यहाँका सर्वसाधारणले चामल पुरानो र कीरा लागेको भेटेपछि फिर्ता पठाएको उहाँको भनाइ छ ।

दुर्गममा ठेकेदारले म्याद गुज्रिएको गुणस्तरहीन चामल वितरण गर्न खोजेकाले उहाँले ठेकेदारलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह पनि गर्नुभयो ।

यता जिल्ला खाद्य संस्थानका प्रमुख चन्द्र खड्काले भने उक्त चामल म्याद नगुज्रिएको बताउनुभएको छ । “म पनि त्यही चामल खान्छु”उहाँले भन्नुभयो, “मैले प्रयोग गर्ने चामल गाउँ पठाएको हो ।”

चामलमा सामान्य घुन कीरा लागेको र बोरा पुरानो भएकाले स्थानीयवासीले शंका गरेको प्रमुख खड्काले बताउनुभयो । यसका लागि खाद्य संस्थान रुकुमले केन्द्रमा उक्त चामल खान मिल्ने नमिल्ने जाँचका लागि अनुरोध गरेको छ ।

संस्थानका प्रमुख खड्काका अनुसार स्यालाखदीका लागि ठेकेदार धुव्र केसीले चामल वितरणको लागि जिम्मा लिनुभएको थियो । “जिल्लाभर उक्त चामल वितरण गरेका छौं’ उहाँले भन्नुभयो, “तर कतैबाट अहिलेसम्म गुनासो आएको छैन् ।”
–––

प्रतिक्रिया दिनुहोस्