रजिस्टरमा धेरै विद्यार्थी,कक्षामा उपस्थित कम



नेपाल समाचारपत्र
बाँके
बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकाको नेपाल राष्ट्रिय प्रावि, खोदवाको रजिस्टरमा २ सय ७५ जना विद्यार्थी छन्।

सहायक जिल्ला शिक्षा अधिकारी (उपसचिव) गोरख थापा र विद्यालय निरीक्षक उद्धव श्रेष्ठको टोली त्यो स्कुलमा पुग्दा ३४ जनामात्रै विद्यार्थी उपस्थित देखिए। कक्षा कोठामा १२ प्रतिशत विद्यार्थी थिए।

‘अरू विद्यार्थी खोई त ?’ अधिकारीहरूको जिज्ञासा पूरा नहुँदै शिक्षकहरूले एकस्वरमा जवाफ दिए– ‘हाम्रो यस क्षेत्रको सबै स्कुलको हालत यस्तै छ। भर्ना हुन्छन् पढ्न आउँदैनन्।’ नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकका लागि त्यहाँ पुगेका उपसचिव थापाले सबै हेडसरलाई निर्देशन दिनुभयो– ‘अभिभावकहरूसँग छलफल गरेर बच्चालाई नियमित स्कुल आउने वातावरण बनाउनुस्।’

सेवासुविधा लिनका लागि भर्ना हुने पढ्न नआउने त्यस क्षेत्रको पुरानै रोग हो। कतिपयचाहिँ मदरसा र अर्को विद्यालयमा दोहोरो नाम लेखाउँछन्।

नरैनापुर गाउँपालिकामा २२ वटा सामुदायिक विद्यालय छन्। त्यहाँ २३ वटा मदरसा छन्। मदरसा नजिक भएको गाउँका बच्चा प्रायः दोहोरो छन्। ‘बैठकमा सबै हेडसरले बच्चा भर्ना भए पनि नियमित विद्यालय नआउने गरेको गुनासो गरे’ –उपसचिव थापाले भन्नुभयो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद साह शुरूदेखि नै बच्चालाई नियमित स्कुल पठाउने अभियानमा हुनुहुन्छ। उहाँले गाउँपालिकामा विविध कामका लागि आउने अभिभावकलाई बच्चालाई स्कुलमा पठाउन आग्रह गर्नुहुन्छ।

भारतीय सीमा क्षेत्रमा पर्ने नरैनापुर गाउँपालिकाका ६ वटा गाविसमा बालबालिकालाई विद्यालय पठाउनुभन्दा एक दिन काम गर्न पठाएमा तत्काल पैसा आउँछ भन्ने अभिभावकमा मानसिकता रहेको छ। यद्यपि, सेवा सुविधा पाइन्छ भन्ने कुराले छोराछोरीलाई स्कुलमा भर्ना भने गरिदने गरिन्छ।

यसैबीच, सरकारले विद्यार्थी कम रहेका विद्यालयलाई मर्ज गर्ने नीति अघि बढाएको छ। नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय पौरखी महिला प्राविलाई आदर्श मावि, राँझामा मर्जको घोषणा गर्यो। विद्यार्थी नरहेको विद्यालयमा ३ जना शिक्षक थिए। शिक्षकलाई उपमहानगरपालिका शिक्षा शाखाले अर्को विद्यालयमा खटाएको पत्र दिन बोलाएको कैयौं दिन भइसक्यो। शिक्षिका आएकी छन्। स्रोतले भन्यो– ‘शिक्षिकाहरू प्रदेशमन्त्रीदेखि न्यायाधीशसम्मलाई फोन गर्न लगाएर पायक पर्ने स्कुल खोजिरहेका छन्। अहिले काज बसिरहेका छन्।’

‘मर्ज गरेर मिलाउन त बडो गाह्रो रहेछ, पठाएका ठाउँमा जादैनन्। उल्टै विभिन्न ठाउँबाट सोर्सफोर्सका फोन गराउँछन्’, स्रोतले भन्यो– ‘कतै मेरै जागिर खाइदेलान् भन्ने डर लाग्ने थालेको छ।’
एउटा स्कुल मर्ज गर्दा नै यस्तो झेलानमा परेको उपमहानगरपालिकाले अरू विद्यालयको मर्जतिर ध्यान दिन सकेको छैन। एउटा कार्यविधि बनाएर स्कुल मर्ज गर्ने तयारीमा रहेको उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख ईश्वर पौडेलले बताउनुभयो।

नेपालगन्ज बजारमा नरैनापुरको खोदवा स्कुलजस्तो रजिस्टरमा मात्रै विद्यार्थी भएका धेरै विद्यालय छन्। उपमहानगरपालिकाले स्पष्ट कार्यविधि बनाएर त्यस्ता स्कुललाई मर्ज गर्न सकेको छैन। केही स्कुलका व्यवस्थापन समितिका अध्यक्षले आफ्नो स्कूल मर्ज गरिदिन आग्रह गरिरहेका छन्। शिक्षकहरू भने नजिक पायक पर्ने ठाउँ परेकाले विद्यालय मर्ज हुँदा कहाँ पर्ने हो भन्ने डरले मर्जको विरुद्धमा लागेका छन्। त्यस्तो विद्यालयको संख्या ठूलो रहेकाले उपमहानगरपालिकाले नै डराइरहेको स्रोतले बताएको छ।

उता, विभिन्न खाले दबाबलाई झेल्दै कोहलपुर नगरपालिकाले ४ वटा स्कुललाई मर्ज गरेको छ।

जानकी प्रावि, दिपशिखा प्रावि, जनता प्रावि र शान्ति निकेतन प्राविलाई मर्ज गरिएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताउनुभयो। अनुगमन गर्दा यी विद्यालयमा कम विद्यार्थी रहेको पाइएपछि चैत २६ गते नै आगामी सेसनमा मर्जको तयारी गर्न निर्देशन दिइएको थियो।

२ स्कूलले मर्जविरुद्धमा षड्यन्त्र गरे पनि असफल भए। एउटा कक्षामा ५० जना विद्यार्थी हुनुपर्ने बताइएपछि उनीहरू झस्किए। ‘५० जना नभए २५ जना त ल्याऊ भन्दा पनि सकेनन्’, शिक्षा शाखा प्रमुख रेग्मीले भन्नुभयो– ‘अन्तिममा एउटा विद्यालयले १ कक्षामा ६५ जना विद्यार्थी रहेको रजिस्टर लिएर आएका थिए। मैले ४० जना कक्षा कोठामा देखाइदेऊ मर्ज हटाइदिन्छु भन्दा देखाउन सकेनन्।’

यी ४ वटा विद्यालयमा २ जना स्थायी र ७ जना राहतका शिक्षक थिए। उनीहरूलाई आवश्यक पर्ने विद्यालयमा खटाइएको छ। यसैबीच, खजुरा गाउँपालिकाले नयाँ गौरीनगरको भानुदय प्राविलाई मर्ज गरेको छ। यो विद्यालयमा नयाँ शैक्षिक सत्रमा ४ जना विद्यार्थी भर्ना भएका थिए। यसलाई पशुपति प्राविमा मर्ज गरिएको छ। दुवै विद्यालयलाई सहमत गराएर मर्ज गरिएको गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बताउनुभयो। उहाँले मर्ज भएका विद्यालयका ४ जना शिक्षकलाई आवश्यक पर्ने विद्यालयमा पठाइने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्