पण्डित बाजेको लौरीमा आइटम



रिलिजको तयारीमा रहेको फिल्म पण्डित बाजेको लौरीको गीति भिडियो सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक समारोहबीच पण्डित बाजेको लौरीमा रहेको सन्ध्या केसीको आइटम डान्स समावेश चोली तुना सार्वजनिक गरिएको हो।

दीपक ओली निर्देशित फिल्मको यो गीतमा सन्ध्यासँगै मरिष्का पोखरेल, भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरीलगायतका कलाकारलाई फिचरिङ गरिएको छ। गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला र श्रीकृष्णकै स्वर तथा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।

आगामी साउन ४ मा अल नेपाल रिलिज हुने फिल्मले एउटा सानो गाउँमा पण्डित्यार्इंको भिन्न–भिन्न काम गर्ने पण्डितहरूको कथासँगै समाजका गहकिला समस्या र घटनालाई समेटेको निर्देशक ओलीले बताए। महेश दवाडीको कथा, पटकथा र संवाद रहेको फिल्मले वादी–वदिनीको कथा पनि उठाएको उनले बताए। यसअगाडि सार्वजनिक फिल्मको टिजरबाट यसले राम्रो प्रतिक्रिया पाएको थियो।

अधृत फिल्म्स् प्रालिको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काद्वारा संयुक्तरूपमा निर्मित फिल्ममा लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतले पनि अभिनय गरेका छन्। फिल्ममा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्