पाल्पा बस दुर्घटनामा १४ को मृत्यु



कविराज नेपाल, पाल्पा।
सहकारी संस्थाका पदाधिकारी र सम्बद्ध व्यक्ति अर्काे सहकारीको क्रियाकलाप अवलोकनका लागि जाँदै गर्दा भएको दुर्घटनामा पाल्पाका व्यवसायी, व्यापारी र कर्मचारीसमेतको मृत्यु भएपछि पाल्पा जिल्ला नै शोकमग्न बनेको छ। पाल्पाको तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका–४ हुमिन धारापानीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेनका अध्ययन अवलोकन भ्रमण टोली लिएर रामपुर जाँदै गरेको बस हिजो शुक्रबार बिहान ९ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। साँघुरो सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकललाई साइड दिने क्रममा सडक भासिएर बस दुर्घटना भएको हो।

बस सडकबाट ३ सय मिटर तल जंगलमा खसेको छ। दुर्घटनामा परी मृत्यु हुनेमा तानसेन–२ की मुना सारू र लोकनाथ ढकाल, तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान वज्राचार्य, छत्रमान शाक्य, कमला कार्की, वसन्ती खाँड, तानसेन–४ का विष्णुमान बज्राचार्य, कृष्णबहादुर बोहोरा, तानसेन–५ की दुर्गादेवी श्रेष्ठ, तानसेन–६ का सुशीलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारू, गीता बुढाथोकी र सचिन वज्राचार्य रहेका छन्।

त्यस्तै घाइते हुनेहरूमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा–६ का विमल रज्जन (सहचालक), तानपा–३ का उत्तमकुमार बज्राचार्य, तानपा–२ का ओम मलेगो, तानपा–६ की मीना खाम्चा, तानपा–६ कै अर्जुन थापा (चालक) र तानसेनकै पुनमाया महर्जन, शान्त बज्राचार्य, मुना सारू र प्रविन बज्राचार्य रहेका छन्।

प्रविन बज्राचार्यको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

यसैबीच सिद्धार्थ राजमार्गमा पहिरोका कारण अवरुद्ध भएकोमा शुक्रबार बेलुकादेखि एकतर्फीरूपमा यातायात सुचारु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। त्यस्तै घाइतेमध्येका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। विपरीत दिशाबाट आएको अर्काे सवारीसाधनलाई साइड दिने क्रममा सडककिनारा भत्किएर दुर्घटना भएको हो।

अकल्पनीय यस दुर्घटनामा परी मृत्यु भएका मृतकप्रति नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना र नेकपाका अध्यक्ष नारायण आचार्यले एक विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली र दुःख व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।

घटनापछि तानसेनका अधिकांश पसल तथा व्यापार व्यवसाय शुक्रबार बन्द गरिएको छ भने मानिसहरू यही कुरामा केन्द्रित भएर कुराकानीमा मग्न रहेको भेटिएका छन्। मृत्यु र घाइतेहरू सबै तानसेनका प्रतिष्ठित व्यापारी हुन भने सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोराको पनि दुर्घटनामा मृत्यु भएको छ।

व्यापारी तथा व्यवसायीको मृत्युपछि जिल्ला शोकमग्न

प्रतिक्रिया दिनुहोस्