झापामा तनावः समस्या सुनुवाई नभएको भन्दै ३ वटा वडा कार्यालयमा तालाबन्दी



नेपाल समाचारपत्र, भद्रपुर ।

सहायक राजमार्ग विस्तारको नाममा सडक आसपासका सर्वसाधारणलाई सुकुम्बासी बनाउने खोजिएको भन्दै पीडित सर्वसाधारणले तीनवटा वडा कार्यालयमा तालाबन्दी गरि दुइघण्टा विरोध स्वरुप धर्ना दिएका छन् ।

झापाको चाराआली–केचना साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका अन्तरगतका १, २ र ३ नम्बर वडामा बसोबास गर्दै आएका राजमार्ग आसपासको जमिन सरकारले हड्प्ने खोजेको भन्दै त्यहाँका स्थानीयले ती वडा कार्यालयमा तालाबन्दी सहित धर्ना दिएका हुन् ।

स्थानीयले घर–नक्सा पास पीडित न्याय माग समिति गठन गरि शिवकुमार राजभण्डारीको संयोजकत्वमा बिहीबार साढे चारसय भन्दा बढी नगरवासी धर्ना दिन गएका थिए । पीडित स्थानीयले नक्सा पास कि क्षतिपुर्ति न्यायको लागि हाम्रो प्रस्तुती,जनताको सम्पत्ती रक्षा गर अनि मात्र तिर्छौ राजस्व र कर,हाम्रो प्रतिनिधि स्थानीय सरकार अन्याय नगर खबरदार लगायतका नारा लगाउदै वडा कार्यालयमा गएका थिए । नगरपालिकाले हाम्रो पीडालाई सम्बोधन नगरेपछि दवाव स्वरुप दिउँसो १२ बजेदेखि दुई घण्टा तालाबन्दी गरेर धर्ना दिएको संघर्ष समितिका संयोजक राजभण्डारीले बताए ।

भद्रपुर नगरपालिकाले सडक आसपासका घर–नक्सा पासमा रोक लगाएपछि समिति गठन गर्न बाध्य भइ आन्दोलन गर्नु परेको उनले बताए ।

विगत चार महिनादेखि सुकुम्बासी बन्न लागेका पीडित सर्वसाधारणका लागि लड्दै आएको समितिले स्थानीय तह हुदै प्रदेश १ का मुख्यमन्त्री , प्रधानमन्त्री कार्यालय सम्म मागपत्रसहितको ज्ञापनपत्र बुझाइसकेको उनको भनाई छ ।

‘तर, हाल सम्म समितिको मागलाई कुनै पक्षबाट सम्बोधन नभएपछि सर्वसाधारणको नीजि सम्पत्ति जोगाउन न्याय माग समितिले सरकार र सडक विभागको एकलौटी निर्णयका कारण करिब ४ सय ५० घरपरिवार विस्थापति हुने अवस्थामा पुगेको र यसतर्फ स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार गम्भिर हुनुपर्नेमा पीडितको भनाइ रहेको उनि बताउँछन् ।

निर्माणाधिन चाराआली–केचना सडक निर्माणको क्रममा हाल सडकदेखि दायाँबायाँ १५÷१५ मिटर सडक खाली गर्नुपर्ने प्रावधान अनुसार सडक छेऊका सर्वसाधारणले जमिन खाली गराइसकेका छन् । १५/१५ मिटर जमिन खाली गराइसक्दा पनि सडक विभागले थप दायाँबायाँ ६÷६ मिटर साईड व्याकअपका लागि खाली राख्नु पर्ने र त्यसभित्र घर बनाउन नपाइने प्रावधान तोकेको छ ।

सडक विभागको प्रावधान अनुसार भद्रपुर नगरपालिकाले घर–नक्सा पासमा रोक लगाएको समितिका सल्लाहकार गणेश पोखरेलले बताए । उनले सरकारले जमिनको क्षतिपूर्ति दिनुपर्ने वा नगरपालिकाले घर–नक्सा पास गराइदिनुपर्ने स्थानीयको माग रहेको बताए ।

सडक विस्तारको विरोधी नभई सडकको नाममा विस्थापित गर्न नपाइने उनको भनाइ छ । २०३७ सालमा नेपाल पुर्नवास कम्पनीले १२ मीटरको सडक नक्सा छुटाएको र तत्कालिन निर्माण तथा यातायात मन्त्रालयलको सडक बर्गीकरणमा यो सडक खण्ड सहायक मार्गमा नपरेको हुदाँ यसलाई अहिले सहायक राजमार्गको नामकरण गरी स्थानीयलाई उठिबास लगाउनु न्यायसंगत नभएको उनको भनाई छ ।

उनका अनुसार यस बिषयमा गत पुस १९ गते वडा कार्यालय हुर्दै नगरपालिका समक्ष मागपत्र पेश गरिसकेको, चैत १२ गते प्रधानमन्त्री कार्यालयमा न्यायलाई ज्ञापनपत्र बुझाएको र चैत २६ गते पुनः नगरपालिका, प्रदेश १ का मुख्यमन्त्रीको कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय झापा, सांसद, वडाध्यक्षलाई लिखित पत्र बुझाइसकेको बताए । यहि २३ गते भद्रपुर नगरपालिकामा तालाबन्दीसहित धर्नाको कार्यक्रम रहेको समितिले जनाएको छ ।

घर–नक्सा पास नगरेको भन्दै आन्दोलनकारीले कार्यालयमा तालाबन्दी गरि धर्ना दिएको वडा नम्बर २ का वडा अध्यक्ष भीमबहादुर सुब्बाले बताए ।

प्रतिक्रिया दिनुहोस्