जुत्ताले गर्दा भारतले विश्व कप खेलेन



२४ जुनदेखि १६ जुलाईसम्म ब्राजिलमा भएको १९५० को विश्वकप विशेष कारणले चर्चित बनेको थियो । प्रत्येक ४ वर्षको अन्तरालमा हुने विश्वकप १२ वर्षपछि मात्र भएको थियो। दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा गरी दुईपटक हुन नसकेको विश्वकपको सन १९५० मा ब्राजिलमा आयोजना गरिएको थियो । उक्त विश्वकपमा दक्षिण एसियाली राष्ट्र भारत पहिलोपटक छनोट भएको थियो । तर भारतले खेल्न भने पाएन । उक्त विश्वकपमा सोझै छनोट भएको भारत फुटबल जुत्ता नभएको कारण खेल्नबाट वञ्चित बन्यो ।

उक्त समय भारतीय खेलाडीहरु खालि खुट्टा फुटबल खेल्ने गर्थे । त्यसअघि पनि सन् १९४८ को ओलम्पिकमा पनि भारतीय खेलाडीहरुले खालि खुट्टा नै खेलेका थिए । तर विश्वकपमा छनोट भएसंगै भारतलाई फिफाले खाली जुत्ता लगाएर मात्र खेल्न निर्देशन दिएको थियो । जसका कारण भारत खेल्नबाट चुक्यो । त्यसपछि भने भारतले अहिलेसम्म विश्वकपमा सहभागीता जनाउन सकेको छैन ।

उक्त विश्वकपमा फिफाले जापान र जर्मनीलाई पनि खेल्न अनुमति दिएको थिएन ।
त्यतिबेला एसियाबाट एउटा मात्र राष्ट्र सहभागी हुन पाउने प्रावधान थियो । छनोट चरणमा फिलिपिन्स, इन्डोनेसिया र बर्माले आ–आफ्नो नाम फिर्ता लिएपछि एसिया महादेशबाट एक मात्र टिमको रूपमा भारत विश्वकपमा पुगेको थियो । २३ दिनसम्म चलेको उक्त प्रतियोगितामा उरुग्वेले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो । त्यसअधि सन् १९३० मा सम्पन्न विश्वकपको पहिलो संस्करण पनि उरुग्वेले नै जितेको थियो ।

कुल ८८ गोल भएको उक्त विश्वकपमा १६ राष्ट्र छनोट भएका थिए । तर अन्तिममा इटाली, टर्की, स्कटल्यान्डले सहभागिता जनाएनन् भने भारतले जुत्ता नभएर खेल्न नपाएपछि १२ राष्ट्रबीच मात्र प्रतिस्पर्धा भएको थियो ।

ब्राजिल आयोजक भए पनि उपाधि जित्न सफल भएन । ६४ वर्षपछि पुन २०१४ मा ब्राजिलले आयोजना गरेको विश्वकपमा पनि उपाधिबाट विमुख भएको थियो ।१९५० विश्वकपमा ब्राजिलले स्विडेनलाई ७–१ ले र स्पेनलाई ६–१ ले हराएर उपाधि दावेदारका रुपमा प्रस्तुत गरे पनि फाइनलमा उरुग्वेसँग २–१ ले पराजित भयो ।
यसै विश्वकपदेखि इंग्ल्यान्डको पनि सहभागिता भएको थियो । तर अमेरिकासँग १–० ले हारेर इंग्लिस टोलीको विश्वकप शुरुआत नमीठो हुन पुग्यो । यो विश्वकपमा कुनै पनि खेलाडीले रातो कार्ड पनि बेहोर्न परेन ।

प्रतिक्रिया दिनुहोस्