पुलिस र प्रदेश १ विजयी



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंमा जारी पीएम कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ ले वर्षाले प्रभावित खेल जितेका छन् ।

पुलिसले प्रदेश नम्बर ७ लाई १ सय ७४ रनको फराकिलो अन्तरले हराउँदा प्रदेश १ ले प्रदेश नम्बर २ लाई ६८ रनले पन्छाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ३ सय २४ रन बनायो । टोलीका ओपनर ब्याटसम्यान सुनील धमलाले ९ चौकासहित सर्बाधिक ८३ रन जोडेका थिए ।

त्यस्तै आरिफ शेखले आक्रमक ब्याटिङ गनेक्रममा ५ छक्का र २ चौका प्रहार गरेर ३७ बलमा ५७ रनको योगदान दिए । कप्तान मञ्जित श्रेष्ठले पनि ३३ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४९ रन बनाए । बलिङतर्फ प्रदेश ७ का शेर मल्लले २ विकेट लिए ।

प्रत्युत्तरमा प्रदेश ७ ले ब्याटिङ गरिरहँदा वर्षा भयो र पछि ३७ ओभरमा ३ सय ५ रनको नयाँ लक्ष्य पाएको थियो । तर अरुण ऐरी मात्रै क्रिजमा टिक्दा प्रदेश ७ ले प्रतियोगितामा पहिलो हारको सामना गर्नुप¥यो । १ सय ३० रनमै रोकिनु अघि ऐरीले ७० रन बनाएका थिए । बलिङतर्फ पुलिसका दिपेन्द्रसिंह ऐरीले ४ तथा ललित भण्डारीले २ विकेट लिए ।

हिजै मूलपानीमा भएको अर्को खेलमा प्रदेश १ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २३ रन जोडेको थियो । जसमा सन्दीप ढुंगानाले ६९ बलमा ५१ रन बनाए भने फिरदोस अन्सारी र श्रवण यादवले क्रमशः ३७ र ३४ रन जोड्दा टोली सुरक्षित स्कोरमा पुगेको थियो । सन्दीपले ८ चौका प्रहार गरे । प्रदेश २ का संंसेद शेखले ४ तथा मेहबुब आलमले २ विकेट लिएका थिए ।

जवाफमा प्रदेश २ ले १७ ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाउँँदा खेल वर्षाले रोकिएको थियो । पछि नयाँ लक्ष्य ३४ ओभरमा २ सय १४ रन बनाउनुपर्ने दिइए पनि टोली ३० ओभरमा १ सय ४५ रनमा समेटिएको थियो । ३४ ओभरमा झारियो र प्रदेश २ ले २१४ रनको नयाँ लक्ष्य पायो । टोलीका लागि ओपनर हरिशंकर शाहले सर्बाधिक ४४ रन बनाए। बलिङतर्फ १ नम्बर प्रदेशका पुष्प थापा र मिनास थापाले ३–३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्