विश्वविद्यालयको वर्गीकरण हुने



ईश्वरराज ढकाल, काठमाडौं
विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूलाई विभिन्न वर्गमा वर्गीकरण गर्ने भएको छ।

सरकारद्वारा प्राडा त्रिरत्न मानन्धरको संयोजकत्वमा गठित ७ सदस्यीय एक समितिले दुई विश्वविद्यालयलाई केन्द्रीय, तीन विश्वविद्यालयलाई विषयगत विशिष्टीकरणको विशेषता बोकेका र पाँच विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउन सिफारिस गरेको हो।

सङ्घीयतामा विश्वविद्यालयहरूसहित उच्च शिक्षाको संरचना, स्वरूप, सञ्चालन, नियमन तथा वित्तीय व्यवस्थापनबारे अध्ययनका लागि गठित उक्त टोलीले काठमाडौं विश्वविद्यालयलाई प्रदेश र स्थानीय सरकारको साझेदारीमा सञ्चालन गरी प्रदेश मातहतमा रहने सामुदायिक विश्वविद्यालयका रूपमा वर्गीकरण गर्न सिफारिस गरेको छ।

यस्तै त्रिभुवन र खुला विश्वविद्यालयलाई केन्द्रीय र कृषि तथा वन विज्ञान, नेपाल संस्कृत र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विषयगत विशिष्टीकरणको विशेषता बोकेका विश्वविद्यालयका रूपमा वर्गीकरण गर्न सिफारिस गरिएको छ। समितिले पूर्वाञ्चल, राजर्षिजनक, पोखरा, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउन सुझाव दिएको छ।

उक्त समितिले आफ्नो अध्ययन प्रतिवेदन पेश गरिसकेको जानकारी दिँदै आयोगका सदस्य सचिव प्राडा. देवराज अधिकारीले छलफल गरी उक्त प्रतिवेदन यही जेठ १७ शिक्षा मन्त्रालय पठाइने बताउनुभयो।

यसैबीच नेपाल प्राध्यापक संघले उक्त प्रतिवेदनको विरोध गर्दै हाल स्थापना भएका सबै विश्वविद्यालयलाई संविधानअनुसार संघबाटै सञ्चालन गर्नुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्