घडियालमा लगानी: बालुवामा पानी !



टीका बन्धन, काठमाडौं
मुलुकका प्राकृतिक बासस्थानमा घडियाल गोहीको संख्या बढाउन राज्यले वर्षेनी लाखौं बजेट खर्चर्ने गर्छ तर नतिजा उत्साहर्पूण छैन। लगानी र मेहनतअनुसार घडियाल गोहीको संख्या ज्यादै न्यून छ।

विगत ४ दशकयता विभिन्न समयमा मुलुकका मुख्य नदीहरूमा १३ सयभन्दा बढी घडियाल छोडिए पनि गणनामा ज्यादै थोरै मात्र भेटिने गरेका छन्। २ वर्ष अघिको गणनाअनुसार प्राकृतिक बासस्थानमा १ सय ९८ घडियाल मात्रै फेला परेका थिए। गत फागुन दोस्रो साता नारायणी र सौराहमा गरिएको अनुगमनमा घडियाल संख्या सन्तोषजनक नरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

यसअघिको गणनामा राप्ती र नारायणी नदीमा १ सय ६६ वटा गोही फेला परेका थिए। ‘वयस्क घडियालले एक पटकमा ६० देखि ७० वटा फुल पार्छ तर प्राकृतिक बासस्थानमा बच्चा हुर्किने÷बढ्ने सम्भावना ज्यादै न्यून हुन्छ।’

विभागका एक अधिकारीले भने। साँघुरिँदै र प्रदूषित बन्दै गएका चरिचरण क्षेत्र, जलचर मैत्री संरचना ‘फिस ल्याडर’, पर्याप्त आहरा (जिउँदो माछा)को अभावले यो जन्तुको भविष्य संकटमा रहेको विभागका अधिकारी स्विकार्छन्।

यसैगरी जलविद्युत् र अन्य पूर्वाधार निर्माणका क्रममा अनियन्त्रित रूपमा बन्ने गरेका बाँध र अन्य मानवीय गतिविधिले घडियालको संख्यामा सुधार आउन सकेको छैन। विभिन्न समयमा मकवानपुर राप्तीमा ६ सय ८५, नारायणीमा ३ सय ९९, बबईमा १ सय १०, सप्तकोशीमा ९५, कालीगण्डकी (देवघाट माथि) ३५ घडियाल छोडिएका छन्। प्राकृतिक वासस्थानमा यो जन्तुको संख्या बढाउन चितवनको कसरा र बर्दियाको ठाकुरद्वारमा घडियाल प्रजनन् केन्द्र सञ्चालनमा छन्। चितवनमा २०३२ र बर्दियामा २०३८ मा प्रजनन् केन्द्र स्थापना भएको थियो।

कसरा केन्द्रको पछिल्लो वार्षिक बजेट ६० लाखको हाराहारीमा छ भने ठाकुरद्वारको १० लाखको हाराहारीमा छन्। केन्द्रको नतिजा ज्यादै सकारात्मक रहेपनि प्राकृतिक वासस्थानको अवस्था सन्तोषजनक नरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेद्बहादुर खड्का बताउनुहुन्छ। उहाँका अनुसार कसरा केन्द्रमा विभिन्न उमेर समुहका ५ सय २० वटा घडियाल छन्।

प्राकृतिक वासस्थानका घडियालको संख्या सुधार्न नेपाल भारतबीच गतिलो समन्वय र सहकार्य जरुरी रहेको औल्याउँदै उहाँले भन्नुभयो– ‘मौसम अनुसार घडियालको वासस्थान हेरफेर हुन्छ, देश फरक भए पनि चरिचरण क्षेत्र एउटै हुन सक्छ।’ मुलुकका अन्य नदीको तुलनामा चितवन र बबईमा घडियालको चहल–पहल सजिलै देख्न सकिने खड्काको भनाइ छ। ठाकुरद्वार केन्द्रमा करिब ५० का हाराहारीमा घडियाल रहेका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद अधिकारीले जानकारी दिनुभयो।

नेपाल र भारतमा मात्रै अभिलेख भएको घडियाल गोहीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले अतिसंकटासन्न सूचिमा सूचिकृत गरेको छ। विश्वमा विभिन्न २३ प्रजातिका गोही अभिलेख भएका छन्, त्यसमध्ये नेपालमा घडियाल र मगर प्रजातिका गोही मात्रै छन्। सन् १९७० पछि बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, म्यानमारलगायतका मुलुकबाट यो प्रजाति लोप भइसकेपछि नेपाल र भारतले प्रजनन् केन्द्र सञ्चालनमा ल्याएका थिए। अति संकटासन्न सूचिको घडियाल नेपाल र भारतका प्राकृतिक वासस्थानमा मात्रै अभिलेख भएकाले विश्वका संरक्षणकर्मीहरूको चासो रहेको बताइन्छ।

प्रजनन् केन्द्रमा हुर्काएर नदीमा छोड्ने गरिएका ७५ प्रतिशतभन्दा बढी घडियाल बाढी र अन्य कारणले भारत पुग्ने गरेका विज्ञहरूको अनुमान छ। तर जलचरमैत्री संरचनाको अभावमा उता पुगेका गोही यता फर्कने संभावना नरहेको उनीहरू बताउँछन्। विगत २ वर्षयता कर्णालीमा घडियालको चहल–पहल नदेखिएको बर्दियाका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्