वाग्मती प्रदूषित हुनुमा सरकार र महानगर गैरजिम्मेवार



 

काठमाडौ । चलचित्रकर्मीले सरकार र महानगरको गैरजिम्मेवारीले वाग्मती प्रदूषित बन्दै गएको आरोप लगाएका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र चलचित्र निर्देशक समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘चलचित्रमा वाग्मती’ विषयक अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मीले नगरपालिकाले घरको नक्सा पास सेफ्टी ट्यांकी नभएकाको पनि गरिदिने र सरकारले आँखा चिम्लेर समर्थन गर्नाले वाग्मती प्रदूषित बन्दै गएको बताएका हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले वाग्मती किनारको जग्गा बेचेर खानेमा नापी कार्यालय र पशुपतिका विभिन्न गुठीका कर्मचारीको हात रहेको बताउनुभयो । “राजनीतिक दलले वाग्मती किनारमा मत बैंकका रुपमा कार्यकर्ता राखेका छन्, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीले दलका नेताको सहयोग नभई तिनलाई हटाउन सक्दैन, सरकारमा समेत जाने दलले हटाउन खोज्दैन”, उहाँले भन्नुभयो ।

अधिकार सम्पन्न वाग्मतीले शिक्षा र सूचनामा बजेट खर्च नगर्दा पनि नदी स्वच्छ बनाउने काम हुन नसकेको खरेलको भनाइ थियो । चलचित्र निर्देशक मोहन निरौलाले वाग्मती प्रदूषित गर्नमा पहिलो जिम्मेवार सरकार त्यसपछि नगरपालिका रहेको ठोकुवा गर्नुभयो ।

नदी अतिक्रमणमा नेता र प्रशासक दुवै संलग्न भएको निर्देशक निरौलाको भनाइ थियो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक नवल खड्का लगायतले नगरपालिकाले घरको नक्सा पास गर्दा ढल कहाँ हाल्ने भन्ने ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।

चलचित्रकर्मीको भनाइपछि अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले नाम अधिकार सम्पन्न भनिए पनि सानातिना कामका लागि पनि अन्य निकायको मुख ताक्नुपर्ने अवस्था रहेको बताउनुभयो । यसको अन्त्यका लागि समितिले कानूनको मस्यौदा गरिरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा समितिका आयोजना प्रमुख आशीष घिमिरे र उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले हालसम्म भएका गतिविधिका बारेमा प्रकाश पार्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्