काभ्रेको विकट डाँडापारिको बनखुचौरबाट नागरिकता वितरण



बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका जनताले अब नागरिकता बनाउनकै लागि जिल्ला सदरमुकाम धुलिखेलसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

बुधबारदेखि महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी विधिवत्रुपमा सेवा प्रवाह शुरु गरेपछि डाँडापारि बासिन्दाका लागि नागरिकता बनाउनकै लागि सदरमुकाम धाउनै पर्ने बाध्यताको अन्त्य भएको हो ।

काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले कार्यालय उद्घाटन गर्नु भई सेवा शुभारम्भ गर्नुभएको हो ।

गाउँमा नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिलोपटक महाभारत गाउँपालिकाका–६ का मकरबहादुर थिङ र नानीमाया थिङका छोरी अनिता थिङ र छोरा प्रवीण थिङले नागरिकताको प्रमाणपत्र लिनुभएको हो । इलाका प्रशासन कार्यालय स्थापना गरेर आफ्नै घर आँगनबाट सेवा लिन पाएकोमा धेरै खुशी लागेको उहाँहरुको भनाइ छ । “नागरिकता बनाउनकै लागि तीन÷चार दिनसम्म लगाएर धुलिखेल गएर बनाउनुपथ्र्यो, त्यही कारणले नबनाइकन बसिरहेका थियौँ, अहिले आफ्नै घर आँगनमा कार्यालय स्थापना गरेपछि यहीँ नागरिकता बनाउन आएका हौँ ।” उहाँहरुले भन्नुभयो, “अब हाम्रा लागि नागरिकता बनाउन हजारौँ खर्च गरेर सदरमुकाम धाउनु पर्ने दिन गए, यसैमा धेरै खुशी छौँ ।”

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सेवाग्राहीले नजिकको ठाउँबाट सेवा पाउने इच्छाअनुसारको सेवा प्रदान गर्न उक्त कदम चालेको बताउनुभयो ।

“जिल्लाको दुर्गम महाभारत गाउँपालिकाका सबै नागरिकले आगामी दिनमा नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र र मेशिन रिडएबल पासपोर्ट (एमआरपी) का सिफारिशसमेत इलाका प्रशासन कार्यालयबाट उपलब्ध हुनेछ ।” राउतले भन्नुभयो, “प्राप्त सेवालाई दीर्घकालीन रुप दिनको लागि भौतिक पूर्वाधारको व्यवस्था गर्न गाउँपालिकाले आवश्यक व्यवस्थापनमा लाग्नुहोला ।”

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले विविध कारणले पछाडि परेका ठाउँमा प्राप्त सेवा र यहाँका नागरिकले पाउने सेवाका लागि जनप्रतिनिधिले अझ धेरै दुःख गर्नुपर्ने बताउनुभयो । यसअघि नागरिकता बनाउनदेखि सरकारी प्रशासनिक कामका शिलशिलामा सदरमुकाम जानेहरु घर नफर्किउन्जेलसम्म बाटोमा के भयो, कतिखेर आइपुग्ने हुन् भनेर चिन्ता लिनुपर्ने अवस्था अब नरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले धेरै प्रयासपछि मात्रै इलाका प्रशासन कार्यालय स्थापना गर्न सफल भएको बताउनुभयो । “कार्यालय स्थापना गर्नका लागि गाउँसभादेखि सबै निकायबाट उत्तिकै साथ र सहयोग पाएका कारण यो काम सफल भयो” जिम्बाले भन्नुभयो, “अब बल्ल डाँडापारिका बासिन्दाको वर्षौंदेखिको सपना पूरा भएको छ ।”

यसअघि प्रमुख जिल्ला अधिकारीको असहयोग भएकै कारण कार्यालय स्थापना गर्न नसकेको उहाँले बताउनुभयो । “यसअघिका प्रमुख जिल्ला अधिकारीले कहिले कर्मचारी नभएको भन्ने, कहिले स्थानको बारेमा विवाद रहेको भन्नेलगायतका बहाना बनाएर स्थापना गर्न नसकेको काम अहिलेका प्रमुख जिल्ला अधिकारीले साथ दिनुभएर यसलाई छिटो गर्न सफल भयौँ” जिम्बाले थप्नुभयो, “कार्यालयबाट नागरिकता मात्रै दिनेभन्ने कुरामा उहाँले नै नागरिकता मात्रै नभई राहदानी, नाबालक परिचयपत्रदेखि नागरिकताको प्रतिलिपिसमेत दिन पाउने सेवाको अख्तियारी दिनुभएकोमा डाँडापारि बासिन्दा थप लाभान्वित हुन पाएका छौँ ।”

कार्यालय स्थापना भएर सेवा प्रवाह भएसंगै अब डाँडापारि बासिन्दाले नागरिकता बनाउनकै लागि तीन÷चार दिन लगाएर रु दश हजारसम्म खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष जिम्बा बताउनुहुन्छ ।

विकट ठाउँमा शुरु भएको सेवा अनलाइनबाट कम्प्यूटर प्रणालीमा नै शुरु गरेको छ । मन्त्रिपरिषद्को २०६९ मंसिर ८ गतेको निर्णयअनुसार काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित घर्तीछाप गाविसमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय भएकोमा हाल आएर राज्य पुनःसंरचनाबाट उक्त निर्णय इलाका क्षेत्र महाभारत गाउँपालिका कायम भई बनखुचौर देवीटारमा स्थापना हुने २०७४ साल असार २६ गते पत्र प्राप्त भएअनुसार बुधबारदेखि कार्यालय स्थापना भएको हो ।

इलाका प्रशासन कार्यालयका प्रमुख झपेन्द्र खरेलसहित सातजनाको दरबन्दी रहेको सो कार्यालयमा अहिले करारका कर्मचारी दुई जनासहित तीनजनाले मात्रै सेवा प्रदान गरिरहेका छन् । कर्मचारी दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी राउतले गृहमन्त्रालयसंग कर्मचारी माग गरिसकेको बताउनुभयो ।

त्यससंगै शान्ति सुरक्षा, लागूऔषध, मदिराजन्य पदार्थको नियन्त्रण गर्न स्थानीयस्तरमा समन्वय गरेर काम गर्न अधिकार प्रत्यायोजन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्