डिभिलियर्सले संन्यास लिए



लन्डन, (एजेन्सी)
दक्षिण अफ्रिकाका पूर्वटेस्ट कप्तान एबी डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। शरीरको उर्जा सकिएको भन्दै डिभिलियर्सले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटलाई बाईबाई गरेका हुन्। ३४ वर्षीय क्रिकेटरले आफ्नो राष्ट्रका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसीय अन्तर्राष्ट्रिय र ७८ टी २० खेल खेलेका छन्। गत वर्ष इंग्ल्यान्डविरुद्ध सिरिजपछि नै उनले टेस्ट क्रिकेटबाट अलग भएका थिए। तर गत डिसेम्बरमा उनी टोलीमा फर्किएका थिए।

उनले बताए– ‘मेरो पालो आयो, इमान्दारीले भन्नुपर्दा म थकित भएको छु। यो मेरा लागि कठिन निर्णय पनि हो।’

३४ वर्षीय डिभिलियर्सले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिजमा डेब्यु गरेका थिए। एक वर्षपछि सीमित ओभरमा उनले खेलेका थिए। उनले दक्षिण अफ्रिकाबाट खेल्दै ८ हजार ७ सय ६५ टेस्ट रन बनाएका छन्। उनको ब्याटिङ औसत टेस्ट र एकदिवसीय क्रिकेटमा ५० भन्दा बढी रहेको छ। उनको अन्तिम टेस्ट सतक अस्टे«लियाविरुद्ध मार्चमा बनेको थियो। त्यो उनको २२औं टेस्ट सतक थियो।
डिभिलियर्सले एकदिवसीय क्रिकेटमा पनि सानदार ब्याटिङ गरेका छन्। उनले २०१५ जनवरीमा वेस्ट इन्डिजविरुद्ध छिटो सतक प्रहार गरेर कीर्तिमान रचेका थिए। उनले ३१ बलमा सतक बनाउँदा ८ चौका र १० छक्का प्रहार गरेका थिए।

उनले टेस्टमा पनि छिटो सतक प्रहार गर्ने किर्तिमान रचेका छन्। उनले सन् २०११ मा भारतविरुद्ध ७५ बलमा १ सय रन प्रहार गरेका थिए।

डिभिलियर्सको दक्षिण अफ्रिकाका लागि अन्तिम टेस्ट खेल अस्टे«लियाविरुद्ध रहेको थियो। जोहानेसबर्गमा भएको उक्त टेस्टमा प्रोटियसले अस्टे«लियालाई ४ सय ९२ रनको फराकिलो अन्तरले हराएको थियो। यो सिरिज उनको टोलीले ३–१ ले जितेको थियो। उनले भिडियो सन्देसमा समुद्रपारी खेल्ने कुनै योजना नभएको तर घरेलु क्रिकेटमा खेल्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्