इजरायलद्वारा अमेरिकी एफ–३५ विमान प्रयोग



जेरुसेलम, (एजेन्सी)
अमेरिकामा निर्मित एफ–३५ स्टिल्थ लडाकू विमान पहिलो पटक इजरायली वायु सेनाले आक्रमणमा प्रयोग गरेको छ। इजरायली वायु सेना प्रमुखले ती लडाकू जेट विमानहरू लेवनानको राजधानी बेरुतको आकाशमा उडिरहेको तस्वीरहरू सार्वजनिक गरेका छन्।
उनले ती विमानले दुईवटा छुट्टाछुट्टै स्थानमा आक्रमण गरिसकेको जानकारी पनि दिएका छन्। हालैमात्र इजरायलले सिरियामा थुप्रै हवाई आक्रमण गरिसकेको छ। तर विश्वकै सबैभन्दा महँगो सैनिक कार्यक्रमभित्र पर्ने एफ–३५ मूल्य र युद्ध कौशलतालाई लिएर आलोचना हुँदै आएको छ।

गत वर्ष भर्खर राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले यसको मूल्यलाई लिएर ट्विट गर्दा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यस कार्यक्रमको प्रतिरक्षा गर्नुपरेको थियो। यस विमानको मूल्य झन्डै १० करोड अमेरिकी डलर पर्दछ।

इजरायलमा २० वटा विदेशी वायु सैनिक फौजको बैठकमा इजरायली सेना प्रमुख मेजर जनरल आमिकाम नोर्किनले भनेका छन्– ‘हामीले एफ–३५ लाई मध्यपूर्वभरि उडाइरहेका छौं र तिनीहरूलाई दुईवटा युद्ध मोर्चामा प्रयोग गरिसकेका छौं। यो विमान कुनै चानचुन खेलौना होइन।’

तर उनले आक्रमण गरिएका स्थान भने उल्लेख गरेका छैनन्। एकल सिट भएको ५० वटा एफ–३५ मध्ये इजरायलले ९ वटा खरिद गरेको थियो। इजरायलले कुल ७५ वटा यस्तो विमान प्राप्त गर्न सक्ने संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्