उज्यालो खोजिरहेको घामसँगै दामोदर



किरण श्रेष्ठ
नेपाली भाषा–साहित्यजगत्मा स्थापित साहित्यकारका रूपमा चिरपरिचित दामोदर पुडासैनी ‘किशोर’ भर्खरैमात्र ‘उज्यालो खोजिरहेको घाम’ कविता सङ्ग्रह लिएर देखा परेका छन्। नियात्रामा छुट्टै खालको नाम बनाइसकेका यिनी कवितामा पनि आफ्नो खालको व्यक्तित्व बनाउन सफल छन्। दामोदर पुडासैनीका सबैजसो विधामा लेखिएका अक्षर–शब्दहरूमा यिनले आफ्नो पहिचानका रूपमा देश र जनताप्रतिको पक्षधरतामा आफूलाई उभ्याउन सफल छन्। कवितामा पनि यिनले आफ्नो देश र जनताप्रतिको मायाप्रीति र संवेदना मार्मिक ढङ्गले व्यक्त गरेका छन्। कवितामा पनि यिनले सफल कवि–व्यक्तित्वका रूपमा आफूलाई पोख्न दिएका छन्।

जागिरको क्रममा यिनी देश–विदेशका भूमिहरू पुगिरहन्छन्। आफूले देखेका, भोगेका र आफ्नो मर्मले टिप्न भ्याएका विषयवस्तुहरू, टिपोटहरूलाई नियात्रा, लेख, निबन्ध र काव्यात्मक अभिव्यक्तिमा पोख्न माहिर छन्। ‘उज्यालो खोजिरहेको घाम’ कवितासङ्ग्रह पनि २०७० भाद्र र आश्विनमा मुगुमा टिप्न भ्याएका कवि दामोदरका काव्यात्मक अनुभूतिहरू हुन्। आँखाहरूका दृष्टिले टिपेका अनुभूतिहरू, मनमा साँचेका दृष्टि र भावनाहरूलाई यिनी कलममार्फत साहित्यिक शैलीमा अभिव्यक्त गर्न पोख्त छन्। यिनका कवितामा जीवनका स्पर्शहरू, प्रकृतिको मनोरम मुहार–अंशहरू, प्रकृति र जीवनको शाश्वत सम्बन्धका सूत्रहरू र यथार्थ वर्णनहरू प्रभावकारी ढङ्गले प्रस्तुत भएका छन्। शब्द, लय, भावको समन्वय गर्न नजानेपछि कविता कमजोर बन्छ। कमजोर कविताहरूले अरूलाई प्रभाव पार्न गाह्रो हुन्छ। त्यसैले सफल कवि हुन माथि उल्लेख भएका सूत्रहरू अति आवश्यक हुन्छ।

कवि दामोदर पुडासैनीका धेरैजसो कविताहरूमा शब्द, लय र भाव जोडिएर आएको देखिन्छ। कवि दामोदर कवितामा खुल्न, लुक्न जानेकै कारणले साँच्चिकैको कविजस्तो देखिन्छन्। उनी यस कविता सङ्ग्रहको अन्तिम कविताको नाममा भूमिकामै कवितामा आफ्नो अनुभूति यसरी पोख्छन्– हिमालको चिसो स्याँठमा÷ मरुभूमिको उखरमाउलो बतासमा÷ र, पहाडको सिरसिर पवनमा÷ मैले सधैं÷ एक मुठी पानी, एक पसर अन्न र एक धरो कपडा÷ खोजिरहेको हुन्छु÷ र, खोजिरहेको हुन्छु÷ ती सबै कुरा खोज्नुको अर्थ …।

कवि दामोदर कवितामा जीवन खोजिरहन्छन्, भ्रममा जीवन साटिरहनेहरूलाई सतर्क गराइरहन्छन्, शोषण र अन्यायका विरुद्ध आवाज उरालिरहन्छन्। त्यसैले यिनी सचेत प्रगतिशील–चेत भएका कवि हुन्। कवि तर्क गर्छन्, विज्ञानसम्मत विचार कवितामार्फत पोख्न खोज्छन्। त्यसैले कवितामा यिनी प्रश्न गर्छन्– मान्छेको भीडहरूमा÷ ‘मान्छे’ हराएको मान्छे उभिएदेखि नै हो÷ अहिलेसम्म कसैले खोजी गरेको छैन निख्खर मान्छेलाई। यिनी कवितामा नै उद्घोष गर्छन्– ‘एउटा बूढो धर्मगुरु÷ सधैँ अस्पष्ट उच्चारणमा प्रक्षेपन गर्छ÷ इहलोकका भन्दा परलोकका भयातुर सिमानाहरू।’ दामोदर आफ्ना कविताहरूमा मानवीय संवेदनाहरूलाई अनेकौं कोण–प्रतिकोणले नियाल्न खोज्छन्। यही विशेषता नै कवि दामोदरको महत्वपूर्ण विशेषता मान्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्