जनकपुरलाई भारतमा गाभ्न भारतीय सांसदको माग



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शन गर्दै गर्दा भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।

भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय साल पहिले अंग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो समाप्त भएको छ । मिथिलाको यस भागलाई फिर्ता लिएर सीताआमाको आदर गर्दै मिथिला राज्य घोषणा होस ।’

उनले ट्वीटमा मोदी र विहारका मुख्यमन्त्री नितिस कुमारलाई समेत मेन्सन गरेका छन् । अहिले उनको ट्वीटलाई लिएर ट्वीटरमा नेपाली र भारतीयबीचको बहस सुरु भएको छ। भारतीयहरु जनकपुरलाई फिर्ता माग गर्न थालेका छन् ।

कीर्ति आजाद सन् २०१४ मा भारतीय जनता पार्टीका तर्फबाट विहारको दरभंगाबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी दिल्लीबाट विधानसभा सदस्य समेत रहेका थिए ।

पूर्व क्रिकेटर समेत रहेका उनी विहारका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा हुन् । उनलाई भारतीय जनता पार्टीले २०१५ मा अरुण जेट्लीमाथि भ्रष्टाचारको अभियोग लगाएपछि निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्