काष्ठमण्डप जनस्तरबाटै पुनःनिर्माण गरिने



प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन

 

नेपाल समाचारपत्र, काठमाडौं

भूकम्पले पूर्ण क्षतिग्रस्त ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माण कार्य जनस्तरबाटै थालनी हुने भएको छ ।

यही बैशाख ३१ गते सोमबार बिहान ९ बजे काष्ठमण्डपमा क्षमा पुजाको आयोजना गरी पुनःनिर्माण कार्य अघि बढाउन लागिएको हो ।

पुनःनिर्माण कार्य अघि बढाउन जनस्तरबाटै काष्ठमण्डप पुनःनिर्माण समिति गठन गरिएको छ । समितिको अध्यक्षमा काठमाडौं क्षेत्र नं ८‘क’ सासंद् राजेश शाक्य रहनुभएको छ ।काठमाडौं महानगरपालिका वडा नं १९, २०, २३ र २४ का वडाध्यक्षहरु, सम्पदा संरक्षणमा सक्रिय व्यक्तिहरु, सरोकारवालाहरु सो समिति गठन गरिएको थियो। ५१ सदस्यीय समितिको उपाध्यक्षमा तेजरत्न शाक्य, सचिवमा गौतम डंगोल, कोषाध्यक्षमा अशोक बज्राचार्य, र उपसचिवमा विभोरलाल श्रेष्ठ रहनुभएको छ ।

समितिलाई आवश्यक सहयोग गर्न काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा निर्देशक समिति गठन गरिएको छ । त्यसैगरी १३ वटा विषयगत उपसमितिहरु गठन गरिएको छ ।

त्यस्तै पुनःनिर्माण कार्यमा सबैको अपनत्व बढाउन समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु राखेर संरक्षक समिति गठन गरिएको पनि समितिले विहीबार आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी दिइयो ।‘पुरानौ मौलिक स्वरुपमा नै काष्ठमण्डप पुनःनिर्माण हुने छ। पुनःनिर्माण कार्य पुरा हुन ३ वर्ष लाग्ने छ ।’ समितिका अध्यक्ष राजेश शाक्यले पत्रकार भेटघाटमा भन्नुभयो ।

स्थानीय स्वयंसेवीहरुको सहयोग लिएर शिव पार्वती र काल भैरव मन्दिर छेउ राखिएका काष्ठमण्डपका काठलाई भोलि शुक्रबारदेखि हनुमानढोकाकास्थित जिल्ला प्रहरी कार्यालय रहेको भवनमा राखिने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्