भलकुलोले रोकियो कटान



हिक्मत नेपाली, दैलेख ।
गत बर्षातमा आएको भल दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरी देउली स्थित स्वास्थ्य चौकी परिषरमा पसेर जलमग्न बन्यो ।

भलले बगाएर लगेका ढुंगा र बगरहरु स्वास्थ्य चौकीमा पस्यो । स्वास्थ्य चौकी वरपर रहेका घरहरु कटानको जोखिममा परे । सोहि भल नियन्त्रण र कटानबाट जोगाउन यस बर्ष भल कुलो निर्माण गरिएको छ ।

पहाडी साना किसानका लागि अनुकुलन आयोजनाले स्थानीय जलवायु अनुकुलन कार्यक्रम अन्तरगर्त संकटासन्नता क्षेत्रलाई प्राथमिकता दिदै भल कुलो निर्माण गरिएको हो ।

भल कुलो निर्माण भएसँगै कटान रोकिनुका साथै स्वास्थ्य चौकीमा भल पस्ने जोखिम हटेर गएको स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण विष्टले बताउनुभयो । हाल यहाँ रहेको देउली बजार र विद्यालय क्षेत्रमा पानी जम्मा भएर बग्ने भल बस्ती र स्वास्थ्य चौकीमा पस्ने समस्या समाधान भएको छ ।

आयोजनाको ४ लाख ४३ हजार रुपैयाँ अनुदान र १ लाख १० हजार बराबरको श्रमदान गरि कुल ५ लाख ५४ हजार खर्चेर भल कुलो निर्माण गरिएको आयोजनाका इन्जिनियर चन्द्रप्रकाश केसीले बताउनुभयो ।

यहाँको जलकल्याण बचत तथा ऋण सहकारी संस्था मार्फत भल कुलो निर्माण कार्य सकिएको सहकारीका अध्यक्ष रुद्ध बहादुर विष्टले बताउनुभयो । भल कुलो निर्माणका लागि मान बहादुर बुढाको संयोजकत्वमा उपसमिति गठन गरिएको विष्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्