पुर्वाधार निर्माण गर्दा स्थानिय तहले सबै मापदण्ड पुरा गर्नै पर्ने



किरन धामी, दार्चुला ।
मापदण्ड बिना निर्माण गरिने सडक लगायतका विकास पुर्वाधारका संरचनाहरु निर्माण गर्दा स्थानिय तह लगायत अन्य निकायहरुले अब देखी सबै प्रकारका मापदण्डहरु पुरा गरेर मात्रै निर्माण गर्नु पर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा बुधबार बसेको जिल्ला विपद व्यवस्थान समितिको बैठकले यो विषयमा निर्णय गरेको छ ।

कुनै मापदण्ड पुरा नगरी निर्माण गरिने सडक लगायत अन्य विकास निर्माणका योजनाहरुका कारण वन विनास, भुक्षय, पहिरोको जोखिम जस्ता विपदको सामना गर्नु पर्ने कुरालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

विपदका बेला धन जनको क्षति हुने र व्यवस्थापनमा थप श्रोत साधन खर्चिनु पर्ने भन्दै उहाले अब देखी कुनै पनि विकास निर्माणका कार्य गर्दा सबै प्रकारका मापदण्ड पुरा गरेर मात्रै योजना निर्माणको कार्य गर्न तथा विपदलाई विकास संग मुल प्रवाहिकरण गर्ने तर्फ विशेष ध्यान दिने गरी उक्त निर्णय गरिएको उहाले बताउनु भयो ।

यस्तै बैठकले मनसुनको समयमा बाढी तथा प्रकोपजन्य विपदबाट राजमार्गहरु अवरुद्ध हुन सक्ने संभावनालाई मध्य नजर गरी तत्काल सडक सुचारु गर्न डिभिजन सडक कार्यालय पाटन, बैतडीले गेकुलेश्वर–दार्चुला सडक खण्डको पनेबाज तथा बगौरा क्षेत्रमा कम्तिमा दुई स्थानमा आसारको दोश्रो साता देखि नै डोजर चौविसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको उहाले बताउनु भयो ।

मनसुनका बेला दार्चुला–तिंकर सडक खण्ड तथा खलंगा दल्लेख सडक खण्डमा उत्पन्न हुन सक्ने अबरोध तत्काल हटाउन दार्चुला–तिंकर सडक योजनाले असार दोश्रो साता देखि नै आवश्यक पर्दा तत्काल प्रयोग गर्न सकिने गरी कम्तिमा डेढ महिनाका लागी डोजर भाडामा लिएर भए पनि आवश्यक व्यवस्था मिलाउने निर्णय निर्णय गरिएको छ ।

विटुले–पारिवगड सडक खण्डको ड्याम साइडमा हुन सक्ने अबरोधलाई हटाउन चमेलिया जलविद्युत आयोजना बलाचले उक्त क्षेत्रमा आवश्यक व्यवस्था मिलाउने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनु भयो ।

जिल्लाका स्थानीय तहहरु संग रहेका हेभी इक्वीपमेन्ट तथा चालकलाई स्थानीय विपद व्यवस्थापन समितिको प्रत्यक्ष निर्देशनमा आवश्यक परेको बेला तत्काल परिचालन गर्न मिल्ने गरी तयारी अवस्थामा राख्ने तथा उक्त प्रयोजनका लागी आवश्यक पर्ने जगेडा इन्धनको व्यवस्था समयमै गर्ने निर्णय गरिएको छ ।

सर्वसाधारणलाई पायक पर्ने स्थानबाट शिघ्र प्राप्त गर्न सक्ने गरी आवश्यक मात्रामा ग्याविन जाली गोकुले, मार्मा, रिठाचौपाता र दुहुँ इलाका प्रहरी कार्यालय र नौगाडको होपरीमा सम्बन्धीत प्रहरी चौकीको रेखदेखमा रहने गरी राख्ने र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा पिडितलाई वितरण गर्ने व्यवस्था डिभिजन सिंचाइ कार्यालयले मिलाउने गरी निर्णय भएको छ ।

जिल्ला विपद व्यवस्थापन सिमिति मातहत प्रयाप्त मात्रामा खोज तथा उद्धार एवं राहत सामाग्री मौज्दात नरहेकोले उपलव्ध गराइ दिन प्रदेश विपद व्यवस्थापन समिति सुदुरपश्चिम प्रदेशलाई अनुरोध गर्ने, मनसुनको समयमा इन्धनको अभावमा खोज तथा उद्धार कार्य प्रभावित हुन नदिन सुरक्षा निकाय तथा विपद व्यवस्थापनको कार्यमा परिचालन हुने साधनलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसमा इन्धन उपलव्ध गराउने गरी जिल्ला स्थित वालिचन्द आयल स्टोर गोकुलेश्वर र महादेव आयल स्टोरलाई कम्तिमा पनि २ हजार लि. पेट्रोल तथा ४ हजार लिटर डिजेल मौज्दात राख्नु निर्देशन दिने समेत निर्णय गरिएको छ ।

यसैगरी चालु आर्थिक वर्षको स्वीकृत कोटा बमोजिमको खाद्यान्न जिल्लाको तिन वटै डिपोमा समयमै ढुवानी गरी भण्डारणको व्यवस्था गर्न नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीलाई पत्र पठाउने तथा जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना र मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना पुस्तकको रुपमा छपाई लगायतमा सहयोगका लागि महाकाली नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्