सय बढीले गाउँमै पाए अपाङ्ग परिचयपत्र



रामचन्द्र वि.क, रामेछाप ।
रामेछाप नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी गाउँमै पुगेर अपाङ्ग परिचय पत्र वितरण गरेको छ । स्थानीय सरकारलाई दिइएको अधिकार प्रयोग गर्दै नगरपालिकाले पहिलो पटक शिबिर नै संचालन गरेर नगर क्षेत्रभित्र रहेका १ सय १५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र दिइएको हो ।

जेठ २० गते देखि संचालन गरिएको अपाङ्ग परिचय पत्र वितरण शिविर मार्फत हाल सम्म वडा नं. १ गोठगाउँमा २१ जना, वडा नं. २ देउरालीमा ९ जना, वडा नं. ३ साँघुटारमा ७ जना, वडा नं. ४ हिमगंगामा ३६ जना, वडा नं. ८ रामेछापमा १६ जना र वडा नं. ९ ल्याङल्याङमा ५ जनाले अपाङ्गताको प्रकृति हेरेर विभिन्न वर्गका परिचयपत्र पाएका छन् ।

बाँकी रहेका वडाहरूमा पनि चाँडै शिविर संचालन गरी अपाङ्ग परिचय पत्र वितरण गरिने रामेछाप नगरपालिकाकी उपप्रमुख तथा अपाङ्ग समन्वय समितिकी संयोजक सिर्जना खड्काले जानकारी दिनुभयो । आफ्नो वडा कार्यालय सम्म आउन सक्नेहरूलाई वडाबाटै र पूर्ण रुपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको घरमै पुगेर परिचयपत्र दिइएको उपप्रमुख खड्काले बताउनुभयो ।

सदरमुकाम पुगेर लिनु पर्ने परिचय पत्र शिविर मार्फत आफ्नै वडा कार्यालयमा पाउँदा सिंहदरबारको अधिकार गाउँमै आएको अनुभुति भएको वडा नं. ४ हिमगंगाका प्रभुराम घिमिरेले बताउनुभयो । परिचयपत्र पाए पछि खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘स्थानीय सरकार भनेको बल्ल थाहा भयो, नागरिकका समस्या र पीडालाई गाउँमै आएर समधान गरिदिने रहेछ ।’

अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नै वडा कार्यालयबाट सेवा दिन पाउँदा आफू पनि उत्साहित भएको सुनाउँदै वडा नं. १ का वडा अध्यक्ष नरबहादुर थापाले भन्नुभयो– ‘यसरी शिविर मार्फत सेवा दिँदा नागरिकले सेवा मात्रै पाएका छैनन्, स्थानीय सरकार प्रति विश्वास पनि बढ्दै गएको छ ।’

कार्यालयबाट गर्नु पर्ने काम गाउँमै पुगेर गर्दा सेवा ग्राहीको खुसीले आगमी दिनमा पनि गाउँमै आएर सेवा दिउँ–दिउँ लागेको परिचयपत्र वितरण फाँटका प्रमुख नारायण सुवेदीले जानकारी बताउनुभयो ।

यसरी शिविर मार्फत अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सेवा दिने जिल्लाका ८ ओटा स्थानीय तह मध्ये रामेछाप नगरपालिका पहिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्