बैतडीका खडक टोलीमा पर्न सफल



विनोदसिंह विष्ट, बैतडी
बैतडीका खडक बोहरा १९ वर्षमुनिको राष्ट्रिय टोलीमा पर्न सफल भएका छन्।  मलेसियामा हुने यु–१९ इस्टर्न रिजन खेल्ने टिमको नामावली मंगलबार सार्वजनिक गरिएको हो। यसअघि मलेसियामै भएको आईसीसी यु–१९ विश्वकप छनोटमा सहभागिता जनाएका चार खेलाडीलाई छोड्दै प्रशिक्षक विनोद दासले चार जना नयाँ खेलाडीलाई मौका दिएका छन्।
यु–१६ टिमका कप्तान विशालविक्रम केसी, लोकेश बम, खडक बोहरा र तिलक भण्डारीले टिममा स्थान बनाएका छन्। खडक बैतडीको निंगलाशैनी क्रिकेट क्लबमा आबद्ध खेलाडी हुन्। उनले प्रधानमन्त्री क्रिकट कप र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाले टिममा पर्न सफल भएका हुन्। खडक प्रधानमन्त्री क्रिकट कपमा उदीयमान खेलाडी भएका हुन् भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान भएका थिए। खडक यु–१९ टोली पर्न सफल भएसँगै खुसी लागेको निंगलासैनी क्रिकेट क्लवबका म्यानेजर रोशन बोहराको भनाइ रहेको छ।
यसअघि टिममा रहेका आसिफ शेख, सन्दीप जोरा, सूर्य तामाङ र अविषेक बस्नेत भने योपटक टिमबाट बाहिरिएका छन्। जुलाई २ देखि ९ सम्म हुने प्रतियोगितामा आठ टिम सहभागी छन्।
मलेसिया जाने खेलाडीको सूची रोहितकुमार पौडेल ९कप्तान० रित गौतम, पवन सर्राफ, भीम शार्की, हरिबहादुर क्षत्री (चौहान), कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, प्रतिश जीसी, विशालविक्रम केसी, लोकेश बम, खडक बोहरा र तिलक बम रहेका छन्।
५० ओभरको प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन र म्यानमार छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्ने भएको छ। समूह ‘ए’ मा रहेको नेपालले म्यानमारसँग जुलाई २ मा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसँग खेल्नेछ।
अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

प्रतिक्रिया दिनुहोस्