लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्



नेपाल समाचारपत्र, काठमाडांै
नेपालको एक्टिभेसन एजेन्सी लेमनले भारतको मुम्बईमा आयोजित फ्लेम अवार्डस् २०१९ प्राप्त गरेको छ। एजेन्सीले विभिन्न विधामा ४ स्वर्ण, ३ रजत र ३ काँस्य पदक हासिल गरेको छ।

लेमनका प्रबन्ध निर्देशक उज्ज्वल शाक्यले अवार्ड जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै भन्नुभयो–‘ हो, निश्चय पनि यो लेमनको लागि मात्र नभई नेपालकै विज्ञापन उद्योगको लागि ठूलो विजय हो। यो सफलताको श्रेय हाम्रो टिम र हाम्रा विज्ञापनदाता दुवैको सामूहिक प्रयासलाई जान्छ।’

नेपालबाट प्रतिनिधित्व गरेका अन्य दुई एजेन्सीहरू, आउटरिच नेपालले प्रोफेसनल क्याम्पियन अफ द इयरतर्फको रजत अवार्ड र क्रेओ कम्युनिकेसन्स प्रालिले सोसियल डेभलपमेन्ट एन्ड सीएसआर अफ द एयर विधामा रजत अवार्ड जितेको छ।

यो सम्मान कार्यक्रमको आयोजना रुरल मार्केटिङ अफ एसोसिएसनले गरेको थियो। ३० जना ख्यातिप्राप्त सदस्यहरू रहेकोे निर्णायक मण्डलले मनोनयनमा परेको विधाहरूबाट छनोट गरेका थिए। प्रमुख निर्णायक मण्डलीले ३०० वटा प्रवेशबाट प्रत्येक विधाको लागि चयन गरिएका अन्तिम मनोनयनहरू छनोट गर्नु अघि गहन अध्ययन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्