ड्रोनका कारण चाँगी विमानस्थल अवरुद्ध



सिंगापुर सिटी, (एजेन्सी)

अनाधिकृत रूपमा मानवरहित ड्रोन विमान उडेका कारण मंगलबार सिंगापुरको चाँगी विमानस्थल अवरुद्ध हुन पुगेको छ। एक साताभित्रै भएको यो दोस्रो घटना हो।
सिंगापुरको नागरिक उड्डयन निकाय (सीएएएस) ले सो ड्रोन विमान र खराव मौसमका कारण अठारवटा उडानमा ढिलाइ भएको तथा सातवटा उडान डाइभर्ट गरिएको जनाएको छ।

गत साता पनि विमानस्थल परिसरमा ड्रोन उडेको देखिएपछि चाँगी विमानस्थलको एउटा धावनमार्ग बन्द गरिनुका साथै दर्जनौं उडान ढिलाइ गरिनु परेको थियो। ड्रोनको प्रयोग सामान्य बन्न थालेपछि विश्वका विमानस्थलहरु धमाधम असुरक्षित बन्दै जान थालेका छन्।

सीएएएसले मंगलबार एउटा विज्ञप्ति जारी गर्दै १५ वटा बहिर्गमन र ३ वटा आगमन उडान ढिलाइ हुनुका साथै अन्य ७ वटा उडान डाइभर्ट गरिएको जनाएको छ। सो विज्ञप्तिमा यसरी उड्डयन र अरूका निजी सुरक्षामा खतरा पुग्ने गरी यसरी ड्रोन उडाउने कार्यमाथि सरकारी निकायले गम्भीर ढंगले लिने चेतावनी पनि उल्लेख गरिएको छ।

सीएएएसले अगाडि बताएको छ, ‘यस घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। जथाभावी ड्रोन उडाउनेलाई १४ हजार ७ सय ८० अमेरिकी डलर जरिवाना वा १२ महिना लामो काराबास सँजाय हुन सक्छ।’ गत बुधवार पनि यस्तै ड्रोनका कारण ३७ वटा उडान ढिलाइ भएकोे तथा एउटा उडान डाइभर्ट गर्नुपरेको सीएएएसले जनाएको छ।

गत वर्षको डिसेम्बरमा बेलायतको ग्याटविक विमानस्थमा अचानक यस्तै ड्रोन देख पर्नासाथ विमानस्थलको उडान सेवा अवरुद्ध हुँदा करिब १ लाख ४० हजार यात्रु अलपत्र परेका थिए।

प्रतिक्रिया दिनुहोस्