नाच्नेहरु गोष्ठीमा



फिल्ममा नृत्य गर्ने कलाकारको संगठन नेपाल चलचित्र नृत्य संघले चलचित्रमा नृत्य विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले फिल्म क्षेत्रको विकासका लागि कार्यशाला, गोष्ठी सञ्चालन हुनु जरुरी भएको तथा संघसंस्थाहरू मर्यादित भएर आप्mना सदस्यहरूलाई सिस्टममा ल्याउन जरुरी रहेको बताए। नेपाल चलचित्र नृत्य संघका वसन्त श्रेष्ठले छायांकन अवधिमा छिटो–छरितो तबरले छायांकन, मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, संगीत आदिको ज्ञान आर्जन हुनका साथै कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति संवद्र्धन र फिल्मकर्मीलाई लाभ मिल्ने दाबी गरे।

गोविन्द प्रभातको संयोजनमा भएको कार्यशालामा क्यामेरामा गौरी शंकर धुजु, निर्देशकमा लक्ष्मीनाथ शर्मा, नृत्यमा कमल राई र राजु शाहले प्रशिक्षण दिएका थिए भने अच्युत घिमिरेले नृत्यको इतिहासमाथि प्रकाश पारेका थिए। कार्यशालामा काठमाडौं र मोफसलबाट कलाक्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको सहभागिता रहेको थियो। उनीहरूले कार्यशाला निकै उपयोगी रहेको बताए।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्