बिछोडको कथामा मायाको खेल



माया पिरतीमा भएको धोकाको कथा बुनेर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक मोहन राईको रिलिज गीत मायाको खेल, आँसुको भेलमा यस्तो विरहको कथा बुनिएको हो। यसको म्युजिक भिडियोमा नायक नायिका जोडी आयुष्मान देशराज जोशी श्रेष्ठ र प्रियंका कार्कीबीचको बिछोड देखाइएको छ। दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको आधुनिक विधाको गीतको म्युजिक भिडियोमा युवाहरूबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन्।

म्युजिक भिडियोको कथाअनुसार बाटोमा लिफ्ट माग्ने क्रममा भेटिएकी प्रियंकालाई आयुष्मानले एकतर्फी माया गर्छन्। पेसाले चित्रकार आयुष्मान पेपर र पेन्सिलका माध्यमबाट प्रियंकाको मुहारचित्र उतार्नेदेखि डान्स बारको नृत्यांगनासम्ममा प्रियंकाकै अनुहार देख्न थाल्छन्। जब आयुष्मानले प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन्। त्यसपछि आयुष्मानले प्रियंकाको तस्वीर जलाउँछन्। थुप्रै छोटो फिल्म निर्देशन गरिसकेका र थुप्रै फिल्ममा मुख्य सहायक निर्देशनको भूमिका निर्वाह गरिसकेका महर्जनले म्युजिक भिडियोलाई कथानकरूपमा ढालेका छन्। म्युजिक भिडियो हेरिरहँदा पनि लघु फिल्मको झल्को मिल्छ।

गीतको भावअनुसार नै नृत्यभन्दा कथा हाबी गराइएको गायक राईले बताए। राईको एल्बम मायाको खेलमा ८ गीत समेटिएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत हिमालको पाखाभरिदेखि ब्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई र मुकेश राईसम्मका गीत यसमा छन्। संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्