नक्कली रिपोर्ट दिने तीनविरुद्ध मुद्दा दायर



काठमाडौं, (नेस)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगन्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत देवराज भुषालसमेत ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ।

आयोगले अदुवा खेती गर्न उक्त आयोजनाबाट प्राप्त रकममा अनियमितता गरेकाले मंगलबार उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ।
आयोगका अनुसार तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत भुषाल, तत्काल कर्णाली सामुदायिक विकास केन्द्र, नेपालगन्जमा कार्यरत तत्कालिन कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने र श्रीस्थान ताजा तरकारी उत्पादन कृषक समूह, व्यावसायिक अदुवा उत्पादन उपआयोजना कृषक समूहका अध्यक्ष रामकुमारी केसी भन्ने रामकला केसीविरुद्ध मुद्दा दायर भएको छ।

नारायण नगरपालिका– दैलेख, कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई आयोजनाबाट अदुवा खेती गर्न समूहका कृषकहरूले पाउने गरी बजेट छुट्याइएको थियो। उनले कृषकहरुलाई उक्त रकम नदिई अदुवा खेती नै नगरी कृषकहरूको भरपाइसहितका नक्कली बिल बनाइ रकम अनियमितता गरेको आयोगको आरोप छ।

स्मरणीय छ, अधुवा खेतीका लागि श्रीस्थान ताजा तरकारी उत्पादन कृषक व्यावसायिक अदुवा समूह, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना र नेपाल राष्ट्र बैंक नेपालगन्जबीच उपआयोजना सञ्चालन गर्र्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको थियो।

उनीहरूले सम्झौताअनुसार कृषक समूहलाई दिनुपर्ने अदुवाको बीउलगायतका कृषि सामग्री भनेअनुसार नकिनी अदुवा खेती नै नभए पनि गलत प्रतिवेदन र झुट्टा बिल भरपाई बनाइ हुँदै नभएको कामको शतप्रतिशत कार्य सम्पन्न भएको भनी अनियमितता गरेका थिए।

उनीहरुले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पु¥याउने र नेपाल सरकारलाई ५ लाख ७७ हजार ३ सय ५० रुपियाँबराबरको रकम हानी नोक्सानी गरेकाले भ्रष्टाचार मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्