चट्याङबाट एकै गाउँका तीन बालकको मृत्यु



नरेन्द्र केसी, दाङ ।
दाङको देउखुरीमा सोमबार चट्याङमा परेर तीन बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी एकै गाउँका तीन वालकको चट्याङमा परेर मृत्यु भएको हो ।

मौरीघाट माध्यमिक विद्यालय नजिक जावुना खान गएका उनिहरु रुखमा चढेको बेलामा चट्याङमा परेका थिए । पैसठ्ठी नम्बर निवासी १२ बर्षिय साजन चौधरी, १३ बर्षिय विवेक चौधरी र १० बर्षिय रमित चौधरीको चट्याङमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । रुखमुनि बेहोस अवस्थामा फेला पारेका उनिहरुलाई उपचारको लागि लमही अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले मृत घोषण गरेका थिए ।

सोही घटनामा परेर ८ बर्षिय अविनास चौधरी घाइते हुनु भएको छ । उहाँको सिसहनिया स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृतक विवेक र घाइते अविनाश दुइ दाजुभाइ हुन् । दुबै जना खुशीराम चौधरीका छोरा हुन् । विवेक स्थानीय सिरिचौर स्कुलमा कक्षा चारमा पढ्नुहुन्थ्यो भने अविनाश कक्षा तिनमा पढ्नुहुन्छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नेपालबन्दका कारण विद्यालय भएकाले बालकहरु खेल्न निस्केका थिए । दुई छोरा विवेक र अविनाश जावुना खाने भन्दै घर देखि उत्तर तर्फ लागे ।

खुशीराम धानको ब्याड छिन्न खेतमा हुनुहुन्थ्यो । एक्कासि चट्याङ परेको खबर पुगेपछि हस्याङफस्याङ गर्दै घटना भएको स्थलमा पुग्नुभयो । त्यहाँ पुग्दा आफै छोरालाइ भुइँमा लडेको अवस्थामा फेला पार्नुभयो । ‘एक्कासि छोरा भुइँमा लडेको देखें– उहाँले भन्नुभयो– ‘स्कुल बन्द भएकाले घरबाट खेल्न निस्किएका थिए । हामी खेतमा थियौँ ।’

प्रतिक्रिया दिनुहोस्