खानेपानी मन्त्री मगरलाई कालोझण्डा देखाउने कांग्रेस कार्यकर्तामाथि कुटपिट



कञ्चनपुर, बेलौरी, खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाएको भन्दै नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका छन्।

कञ्चनपुरको क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का र विक्रम चन्दमाथि नेकपा कार्यकर्ताले हमला गरेको प्रहरीले जनाएको छ ।

मंगलबार कञ्चनपुरको बेलौरी पुर्नवासको नगर परिषद्मा सहभागी बन्न पुगेकी मन्त्री मगरलाई डौकी बजारमा कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए। उनीहरुले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको र जनताका काममा ध्यान नदिएको भन्दै कालो झण्डा देखाएका थिए।

कुटपिटबाट घाइते तीनै जनाको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुर क्षेत्र नम्बर १ का कांग्रेस कोषाध्यक्ष महेश जोशीले मन्त्री मगरले नेकपाका परिचालन गरेर कांग्रेस कार्यकर्तामाथि निर्घात कुटपिट गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्