डाक्नेश्वरी ड्रागनलाई मेयर कप



सप्तरी, (नेस)
मेहबुब आलम कप्तानीको रूपनी राइडर्सलाई २ विकेटले हराएर पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग दोस्रो संस्करणको उपाधि हात पारेको छ।

उपाधिसहित डाक्नेश्वरीले २ लाख रुपियाँ हासिल गर्दा उपविजेता रूपनी राइडर्सले १ लाख रुपियाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी डाक्नेश्वरीका राहुल मण्डल चुनिए, उनले १५ हजार रुपियाँ पाए। यस्तै उत्कृस्ट ब्याट्सम्यान रूपनीका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरीका रोबिन सिंह घोषित भए। उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १० हजार रुपियाँ प्राप्त गरे। रूपनीका अनुज यादवले उदयमान खेलाडी घोषित हुँदै क्रिकेट ब्याट पुरस्कार पाए।

सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी स्कुलको मैदानमा पहिले ब्याटिङ गर्दै रूपनीले दिएको १ सय १६ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर जित्यो। जितको लागि १ समय २४ बलमा ३४ रन आवश्यक हुँदा कप्तान पुष्प थापाले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएर टिमलाई जित नजिक पु¥याएका थिए। थापाको विकेटपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो।

डाक्नेश्वरीको जितमा ओपनर विशाल सुस्लिङले सर्वाधिक ३८ रन बनाए। यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए। रूपनी राइडर्सको बलिङमा सैदुल्लाह अन्सारीले सर्वाधिक ३ विकेट लिए। यस्तै अनोज यादवले २ विकेट तथा प्रदीप पासवान र मेहबुब आलमले १–१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको रूपनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। उसका लागि सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८, मुकेश यादवले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादवले समान १४ रन बनाए।
डाक्नेश्वरीको बलिङमा दीपेश कँडेल, पुष्प थापा र प्रेम तामाङले २–२ विकेट लिए भने रोबिन सिंहले १ विकेट लिए। प्लेयर अफ द फाइनल म्याच पुष्प थापा चुनिए।

प्रतिक्रिया दिनुहोस्