तक्मा नपाएकै बेस



विश्वविद्यालय टप गर्ने अनि तक्मा पाउने कुरो चानचुने होइन। तक्मावालाको हुलिया जस्तोसुुकै होस् तक्मा पाएसी उसको कद बाँसको लिङ्गोभन्दा उँचो हुन्छ। मेडल पाउने मेडमहरूको झन् के कुरा। न जागिरको टेन्सन न त घरबारको। तक्मावालालाई छोरी दिनेको ताँती नै लाग्छ।

पुजनीय तक्मा आजकल बिटुलो भएको छ, तक्माको गरिमा खस्किएको छ, अस्मिता लुटिएको छ। तक्मा दिने र पाउनेमाथि नै चोर औंला खडा हुन थालेको छ। तक्मा कसरी किनबेच हुँदो रैछ भन्ने कुरो त्रिवि अर्थशास्त्र विभागतर्फ दूरबिन सोझ्याउँदा प्रस्ट भो। नौ अंक ल्याउने विद्यार्थीलाई ६० अंक थपेर सर्वोत्कृष्ट अर्थात् गोल्ड मेडलिस्ट बनाइन्छ भने विश्वविद्यालय उस्तो हो कि तक्माधारी ?

त्यसो त प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासै किनबेच हुने मुलुकमा विश्वविद्यालय डिग्रीको के कुरा भो र ? कुरो विश्वविद्यालयको तक्माको मात्रै होइन। सरकारले गणतन्त्र दिवसका अवसरमा प्रदान गर्ने खै के–के नामको विभूषणको हालत पनि उस्तै हो भन्ने चर्चा चल्न थाल्या वर्षौं हुन थालिसक्यो।

अब त कसैले निष्पक्ष मूल्यांकनका आधारमा तक्मा वा कुनै विभूषण पायो भने उल्टै आलोचना खेप्नुपर्ने दिन आयो। यस्तै भएसी तक्माधारी छोरा÷छोरीको बिहेको चर्चा चलाउन पनि गाह्रो। त्यसैले आलोचनामुक्त हुन तक्मा र विभूषणबाट टाढै रहेकै बेस।

प्रतिक्रिया दिनुहोस्