वैदेशिक रोजगारको करार अवधि छँदै स्वेदशमा मृत्यु भए पनि क्षतिपूर्ति पाइने



नेपाल समाचारपत्र, काठमाडौं
श्रम विभागले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा बिदामा घर आएका बेला बिरामी भई उपचारको क्रममा मृत्यु भएको अवस्थामा आर्थिक सहायता उपलब्ध गराउने भएको छ।

यस्तै सरकारले वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दुर्घटनामा परी गम्भिर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षघातबाट हिँड्डुल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, युएईलगायतका मुलुकका विभिन्न अस्पतालमा उपचाररत २८ जना नेपाली बिरामीलाई स्वदेशमा ल्याई उपचार गराउने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका चिकित्सक, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्यसचिव रहने गरी कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ। कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीको संकलित तथ्यांक उपर छानविन गरी नेपाल ल्याउने प्रक्रिया, मापदण्डका सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेस गर्नेछ।

बैठकले बाग्लुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेवियामा मृत्यु भएको तर अस्पतालबाट शव पठाउँदा शव चिन्न नसकिने अवस्थामा रहेकाले मोरङका सुवास तामाङ भनी पठाएकोे थियो। सुवास तामाङको परिवारले दाहसंस्कार गरी सचिवालयबाट आर्थिक सहायतासमेत प्राप्त गरिसकेपछि सुवास तामाङ जीवितै नेपाल फर्किएको सन्दर्भमा मृतक भण्डारीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। सुवास तामाङको परिवारले प्राप्त गरेको आर्थिक सहायता निजको स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय बैठकले गरेको छ। विभागले हालै १ सय १४ जना कामदारका हकदारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ। आइतबार वैदेशिक रोजगार बोर्डका अध्यक्ष एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट सहभागी बैठकले सोे निर्णय गरेको थियो। १ सय १४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्डले ६ करोड ६६ लाख रुपियाँ बजेट व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्