जी–२० सम्मेलनमा हङकङ मामिला उठाउन नदिने



बेइजिङ, (एजेन्सी)

जापानमा हुन गइरहेको जी–२० शिखर सम्मेलनमा हङकङको मुद्दामा चर्चा गर्ने अनुमति नदिने चीनले जनाएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा हङकङको प्रदर्शनका विषयमा चर्चा गर्ने मनसाय राखेको बताइएको छ।
हालै हङकङमा एक विधेयकलाई लिएर व्यापक स्तरमा प्रदर्शन भएको थियो। उत्त विधेयकमा मुद्दा चलाउनका लागि उनीहरुलाई चीनसमक्ष हस्तान्तरण गर्न सकिने प्रावधान रहेको छ। विरोध प्रदर्शनमा हिंसापछि प्रहरीले भिड तितरवितर पार्न रबरका गोली तथा अश्रु ग्यास प्रहार गरेका थिए। हस्तान्तरण विधेयक तथा प्रदर्शनलाई लिएर प्रहरीको कारबाहीपछि अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार कार्यकर्ताहरुले आलोचना गरेका थिए।

अमेरिका वा कुनै अन्य देशले जुन २७–२८ मा जी–२० शिखर सम्मेलनका क्रममा हङकङको मुद्दा उठाएमा त्यसको विरोध गर्ने चीनले जनाएको छ। तर शिखर सम्मेलनका क्रममा सीसँगको आफ्नो भेटमा ट्रम्प र अन्य देशले यो मुद्दा उठाउन सक्ने अनुमान गरिएको छ।
चीनका उपविदेशमन्त्री झाङ जुनले बैठकमा उक्त मुद्दा उठाउन चीनले अनुमति नदिने बताए। जी २० विश्व आर्थिक मुद्दामा आधारित समूह हो। झाङले भने– ‘जी २० मा हङकङ मुद्दामा छलफल नहुने विषयमा म निश्चित रूपमा भन्न सक्छु। हङकङ चीनको विशेष क्षेत्र हो र कुनै पनि विदेशी मुलुकलाई हस्तक्षेप गर्ने हक नभएको उनले बताए।’ ट्रम्पद्वारा मुद्दा उठाइने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले भने– ‘हङकङ मामिला पूर्ण रूपमा चीनको आन्तरिक मामिला हो।’

प्रतिक्रिया दिनुहोस्