शृंखलावद्ध हत्यारालाई आजीवन कारावास



निकोसिया, (एजेन्सी)
एकजना ग्रिक–सिप्रियट सैनिक अधिकारीलाई पाँचजना विदेशी महिला र तिनीहरुका दुईजना बालबालिकाको हत्याको अभियोगमा थुप्रै आजीवन कारावास सँजाय सुनाइएको छ। ३५ वर्षीय निकोस मेटाक्ससासलाई सोमबार साइप्रसको अदालतले तीन वर्षको अवधिभित्र अपहरण र सातजना महिला तथा बालिकाको हत्यालगायतका १२ वटा अभियोगमा दोषी ठहर गरेको थियो।

अदालत कक्षमै आँखाभरि आँसु राख्दै पीडित परिवारसमक्ष माफी माग्नुका साथै आफूले किन त्यस्तो अपराध गर्न पुगे भन्ने नै थाहा नभएको बताएका छन्। साइप्रसको इतिहासकै सम्भवतः यस पहिलो शृंखलावद्ध हत्याको मुद्दाले जनतालाई स्तब्ध बनाएको छ।
मेटाक्ससासलाई अदालत कक्षमा बुलेटप्र्ुफ ज्याकेट लगाउन दिएर कडा सुरक्षा दिइएको थियो। तीनजना न्यायाधीशको इजलासले पूर्वसैनिक क्याप्टेनले निहत्था महिला तथा बालिकाको निर्मम हत्या गरेको जनाएको छ। एकजना हत्या गरिएकी महिलाको शव साइप्रसको रेड लेकमा भेटिएको थियो।

ती हत्या सन् २०१६ को सेप्टेम्बरदेखि सन् २०१८ को अगस्टबीच भएको थियो। मारिनेमध्ये तीनजना फिलिपिनी एकजना नेपाली र एकजना रोमानियाली भएको बुझिएको छ। तिनीहरुमध्ये अधिकांश घरेलु कामदार थिए।

प्रतिक्रिया दिनुहोस्