असफल सैनिक विद्रोहका नाइके मारिए



एडिस अबाबा, (एजेन्सी)
इथियोपियाको अम्हारा क्षेत्रमा शनिबार भएको असफल सैनिक विद्रोहका आशंकित नाइकेलाई प्रहरीले गोली हानी मारेको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ। ब्रिगेडियर जनरल एसामिन्यु सिजेलाई अम्हाराको राजधानीबाहिर दार नजिकै मारिएको बताइएको छ।
सरकारले अघिल्लो दिन उक्त असफल सैनिक विद्रोह प्रयासको दौरान इथियोपियाका सेना प्रमुख ‘जनरल सियरे मेकोन्नेन’ को आफ्नै अंगरक्षकबाट गोली प्रहार गरी हत्या भएको जनाएको थियो। इथियोपियाका प्रधानमन्त्री अविय अहमदले देश विभाजित गर्न खोज्ने खराब फौजविरुद्ध एकजुट हुन आ≈वान गरेका छन्।

उनले देशभक्तिहरुको मृत्यु भएकोमा शोक दिवस मनाउने घोषणा गरेपछि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइएका छन्। शनिबारको घटनामा मारिने जनरल सियरे र अम्हाराका गभर्नर एम्वाच्यु मकोन्नेन प्रधानमन्त्रीका वफादार व्यक्तिका रूपमा चिनिन्छन्। अहिले बाहिर दार र संघीय राजधानी एडिस अबाबामा ठूलो संख्यामा सरकारी फौज तैनाथ गरिएको छ।

एक साताभन्दा लामो समयदेखि बिना कुनै कारण ब्ल्याकआउट हुँदै आएको इथियोपियामा असफल सैनिक विद्रोह प्रयास यता इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ। संयुक्त राज्य अमेरिकाको विदेश विभागले एडिस अबाबामा रहेका आफ्ना कर्मचारीलाई घर बाहिर नआउन निर्देशन दिएको छ।

केही वर्ष यतादेखि अम्हारा र इथियोपियाको अन्य भागहरुमा जातिय हिंसा हुँदै ैआएको छ। गत वर्ष प्रधानमन्त्रीमा निर्वाचित भएयता अहमदले इथियोपियामा व्यापक सुधार ल्याउने प्रयास थालेका थिए। उनले राजनीतिक बन्दीहरु रिहा गर्ने तथा विपक्षी पार्टीहरुमाथि लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्नेजस्ता कार्य गरेका थिए।

प्रतिक्रिया दिनुहोस्