दाल भात तरकारीले मनायो ५१औं दिन



मह सञ्चारद्वारा निर्मित फिल्म दाल भात तरकारीले राजधानीका ३ हलमा प्रदर्शनको ५१औं दिन मनाएको छ।
गत वैशाख २० गतेदेखि अल नेपाल रिलिज भएको फिल्मले राजधानीको गुण सिनेमा ग्वार्को, गोपीकृष्ण मुभिज चाबहिल र अष्टनारायण पिक्चर्स बाइपासमा प्रदर्शनको ५१औं दिन पार गरेको अवसरमा खुसियाली मनाएको हो।

फिल्मले यस अवधिमा कुल ६ करोड आसपासमा ग्रस कलेक्सन गरेको यसका प्रस्तुतकर्ता किरण केसीले कार्यक्रममा जानकारी गराए। समारोहमा फिल्मका लेखक तथा प्रमुख अभिनेता हरिवंश आचार्यले अरू सबै पाटोको प्रशंसा गर्दै आलोचनाको जिम्मेवारी आफूले लिने बताए। ‘प्राविधिक, कलाकार, निर्देशक सबैलाई बधाई छ। आलोचनाको जिम्मा भने म लिन्छु’, समारोहलाई सम्बोधन गर्ने क्रममा हरिवंशले भने– ‘हामीले रेगुलरभन्दा केही नयाँ प्रयोग गर्न खोजेका थियौं। परीक्षामा जस्तै यसमा पनि कहिले फेल र पास भइन्छ। आगामी दिनमा गुनासो कम गर्ने प्रयास गर्ने छौं।’ समारोहमा मह सञ्चारका तर्पmबाट कलाकार तथा प्राविधिकलाई प्रमाणपत्र र बोनस प्रदान गरिएको थियो। सो अवसरमा नायिका आँचल शर्मालाई आइफोनको पछिल्लो भर्सन उपहार दिइएको छ।

सुदन केसीको डेब्यु निर्देशनमा बनेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, किरण केसी, वसुन्धरा भुसाललगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्