पर्यटक तान्दै क्यानोनिङ



टंकराज अधिकारी, पोखरा ।

“अरू बेला को–कसको यति र उति माया लाग्छ भनेर गफ दिइन्थ्यो । तर क्यानोनिङ गर्दा पो थाहा पाएँ, आफ्नो ज्यानभन्दा अरू कसैको माया लाग्दो रहेनछ !” माछापुच्छ«े गाउँपालिका वडा नं. ८ घलेलस्थित कुदिछहरामा पहिलोपटक क्यानेनिङ गरेपछि पोखराकी सविता बरालले सुनाएको ताजा अनुभव हो यो ।

“पहिला डराएँ, बीचमा आएपछि रमाइलो लाग्यो,” मानव मिलन नारी जागरण नेपाल पोखराकी अध्यक्ष समेत रहेकी बरालले भन्नुभयो–“एकपटक जानैपर्ने ठाउँ रहेछ, ‘इन्जोए’ गरियो, भरपुरमज्जा लिइयो ।” सबितासँगै गण्डकी प्रदेशकी सांसद ललितकला गुरुङ, काँग्रेस नेतृ सरस्वती गुरुङ, नेकपा अध्यक्ष प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी, साहित्यकार सरस्वती प्रतिक्षा, पत्रकार राधीका कँडेल (राधी) सहितको टोली यही साता रिट्रीट कार्यक्रम लिएर कुदिछहरा पुगेको थियो ।

“मेरो पहिलो क्यानोनिङ एकदम रोमाञ्चक रह्यो,” साहित्यकार सरस्वती प्रतिक्षाले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “आफू कति बलियो छु वा आफूभित्र कति आत्मविश्वास छ भनेर जान्न पनि एकपटक क्यानोनिङ गर्नुपर्ने रहेछ । हाम्रा कतिपय डर वा त्रासलाई विरेचन गर्न पनि यसले मद्दत गर्दो रहेछ । सायद त्यसैले क्यानोनिङलाई वाटर थेरापी वा वाटर हिलिङ पनि भनिएको होला ।”

उहाँले अगाडि थप्नुभयो,“त्यसो त यो जोखिमपूर्ण खेल हो । जिन्दगीमा उठाइने जोखिमले नै जिन्दगीप्रति हुरुक्क हुन पनि सघाउँदो रहेछ । थाहा नपाई हामी आफ्नो जिन्दगीलाई कति माया गर्छौ भन्ने कुरा क्यानोनिङले यहसास गराउँछ । यो साहसिक खेलको अझै प्रचारप्रसार गरेर पोखराको पर्यटनलाई नयाँ रंग दिन सकिन्छ, ता कि पोखरा आउने हरेक पर्यटककले क्यानोनिङको स्वाद लिएर मात्र फर्कुन् ।”

अहिले पोखरामा उर्खमौलो गर्मी छ । त्यही गर्मी छल्न सबिताजस्तै थ्रुपै साहिसक महिला तथा पुरुष कुदिछहरा पुग्ने गरेका छन् । “जाडो याममा भन्दा गर्मी याममा क्यानोनिङ खेल्न आउनेको संख्या बढी छ, ।” पोखरा क्यानोनिङका अध्यक्ष रामबहादुर गुरुङले भन्नुभयो–“क्यानोनिङले पर्यटकको आकर्षण बढाएको मात्र छैन, यसले पर्यटन प्रवद्र्धन समेत गरेको छ ।” क्यानोनिङ गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गरेको भए पनि महिलाभन्दा पुरुषको चाप बढी रहेको सञ्चालक गुरुङको भनाइ छ ।

पोखरादेखि २० किमीको दुरीमा रहेको ल्वाङघलेलस्थित कुदिछहरामा सञ्चालित साहसिक क्यानोनिङ खेल आन्तरिक तथा वाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । खासमा ल्वाङघलेलको पुरानो पहिचान चिया बारी हो । तर अब यो गाउँ चियाबारीमा मात्र सीमित छैन । अहिले यो गाउँको परिचय फेरिएको छ ।

“गाउँ घुम्न आउने पर्यटकहरूले घलेल गाउँको नाम नै फेरिदिए,” स्थानीय युवा राजेन्द्र क्षेत्रीले भन्नुभयो–“अहिले सबैले क्यानोनिङ गाउँ भन्न थालेका छन्, तैपनि हामीलाई गर्व लागेको छ ।”

डोरीको सहायताले पानीको छहरामा माथिबाट तल झर्ने खेललाई क्यानोनिङ भनिन्छ । साहसिक खेल भएकाले सबै उमेर समुहका मानिसहरुले यो खेल खेल्न सक्दैनन । अग्लो छहराबाट पानीसँगै तल झनुपर्ने भएकाले हेर्दा जोखिमपूर्ण देखिन्छ ।

तैपनि यसले महिला पुरुष सबैलाई लोभ्याइ रहेको छ । छहराबाट झरेको पानीसँगै डोरीमा झुण्डिएर गरिने क्यानोनिङ खेलबाट पर्यटकहरुले फरक किसिमको अनुभव र मनोरञ्जन लिन सक्छन् ।

त्यही भएर नै यस खेलतर्फ पर्यटकहरुको आकर्षण बढेको हो । तर यो खेल खेल्न आत्मबल दरो हुनुपर्छ । क्यानोनिङ खेलका लागि गाइडको व्यवस्था समेत गरिएको छ । नेपाली तथा विदेशी पर्यटकहरू क्यानोनिङ खेल्नका लागि दैनिक जसो आउने गरेका छन् ।

२०७० साल बैशाखदेखि सञ्चालनमा आएको क्यानोनिङमा अहिलेसम्म करीव ८ हजार जति स्वदेशी एवं विदेशी पर्यटकले यसको मज्जा लिइसकेका छन् ।

खान बस्न सहितको सुविधा भएको रिर्सोट समेत रहेको क्यानोनिङको लागि छुट्टाछुट्टै प्याकेज को व्यवस्था छ । नेपालीको लागि क्यानोनिङको मात्र दुई हजार चार सय, पोखराबाट जान आउन, खाना तथा खाजा खाने सुबिधा सहितको क्यानोनिङको लागि तिन हजार नौं सय र एक रात बास बस्ने सुबिधा सहितको प्याकेजको लागि चारहजार नौ सय रुपैया शुल्क तोकिएको भने बिदेशीको लागि ३९, ६९ र ७९ अमेरिकी डलर शुल्क लाग्नेछ ।

क्यानोनिङ खेल्न पुग्नुभएका अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकका अध्यक्ष ललित गुरुङले क्यानोनिङ गरेपछि छुट्टै खालको अनुभुति भएको बताउनुभयो ।

“यो खेल खेलेपछि पुनः अर्को पटक पनि खेल्न आउ आउ लागेको छ,” उहाँले भन्नुभयो, “पानीको अग्लो छहरासँगै डोरी समातेर तल खस्दा डर लागेपनि छुट्टै खालको रोमाञ्चक जलयात्राको मज्जा लिइयो ।”

मर्दी हिमालको पदयात्रा मार्गमा पर्ने यो क्यानोनिङले घलेल र ल्वाङ गाउँमा सञ्चालित होमस्टे (घरबास) को समेत प्रवद्र्धनमा सघाउ पुगेकोे स्थानीय समाजसेवी टीका गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्