कोलातीका माझी समुदायले घाटपूजा मनाए



ज्ञानमणि नेपाल, काभ्रे । विविध जातजाती र भेषभुषाको देश नेपाल । यहि धेरै जाती मध्ये आफ्नो छुट्टै संस्कृति बोकेको जाती हो माझी जाती । अरु जातीका जस्तै यो जातीको पनि आफ्नै चार्डपर्व र विशेषता छन् । विशेषगरि नदी किनारामा बसोवास गरेर नदीमै पाइने माछा मार्ने, डुंगा खियाउने र पानीघट्ट चलाउने उनीहरुका मौलिक विशेषता हुन् । काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट लगायतका जिल्लामा छरिएर रहेका उनीहरुले धेरै संस्कृतिका चार्डपर्वहरु मनाउँछन् । अरु कुनैपनि जातीमा नमनाउने पितरापर्व पनि यो समुदायले मनाउँछन् । यसमध्ये अर्को चार्ड हो घाटपूजा , जसलाई काभ्रेको भुम्लु गाउँपालिका स्थित कोलातीका माझी समुदायहरुले भव्यरुपमा मनाएका छन् ।

जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ६ मा ३ वटा माझीवस्ती छन् । तीन वटा माझीगाउँलाई माथ्लोगाउँ, तल्लोगाउँ र आपगाउँ भनेर चिनिन्छ । सबै गाउँका आआफ्नै विशेषता र चार्डपर्व छन् । यस्तै मध्ये घाटपूजा पनि एक हो । करिव ३/३ किलोमिटरको दुरीमा रहेका यी गाउँका माझीहरुले यो पूजा मनाएका हुन् ।

यो पूजा मनाउँदा उनीहरु आफ्नै भेषभुषामा आफूहरुले प्रयोग गरिने जाल, बल्छी, फुर्लुंग, घोल्र्यांग तथा बाजागाजा लिएर माथिल्लो गाउँदेखि ३ वटै गाउँमा रमाइलो गर्दै झर्दछन् । तल खोलामा पुगेर खोला वारीपारी गर्ने साधन डुंगालाई सबै मिली पूजा गर्ने गर्दछन् । आफ्नै संस्कृतिका धनी माझी जातीहरु सो पूजामा नजिक रहेका अन्य समुदायलाई पनि बोलाउँछन् । रमाइलो गर्दै पूजा सकेर पर्साद खाने चलन छ ।

कोलातीका स्थानिय पुरुषोत्तम माझीका अनुसार यसो गर्नु माझीहरुको मौलिक संस्कृति हो । अन्य ठाउँमा संस्कृतिहरु लोप भइसकेका भएपनि यहाँ भने परम्परागत रुपमा उनीहरुले आफ्नो संस्कृति जोगाउँदै आइरहेका छन् । यहाँको पाको पुस्तालाई नयाँ पुस्ताले पनि साथ दिइरहेकाले घाटपूजाको परम्परालाई जोगाउन सकिएको उनले बताए । आगामी दिनमा पनि यस्ता संस्कृति बचाउन आफूहरु सक्रिय रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्