लागूऔषध दुव्र्यसन नियन्त्रण हुन सकेन



लागूऔषध दुव्र्यसनी पक्राउ परेका समाचार दिनहुँ अखबारहरूमा आउँछन्। प्रहरीले लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिन्छ र आवश्यक परामर्श दिएर छोड्छ। प्रहरीले पक्राउ गरेर छोडेका वा कारबाहीको प्रक्रिया थालेकाहरूको मात्रै तथ्यांक रहन्छ तर प्रहरी र समुदायको आँखा छलेर लागूऔषधको दुव्र्यसनीमा फसेकाहरूको संख्या भयावह छ। सन् २०१८ को तथ्यांकलाई केलाउने होभने नेपालका दुव्र्यसनीको संख्या ४ हजार ६ सयको हाराहारीमा रहेको छ। जसमध्ये १ सय ९५ जना महिला रहेको तथ्यांक छ।

यो प्रहरीले निकालेको तथ्यांक हो। प्रहरीको नजरमा नपरेका दुव्र्यसनीको संख्या त्यो भन्दा दोब्बर रहेको आँकलन छ। दुव्र्यसनीहरूको संख्या दिनदिनै बढ्दै गइरहेको भएपनि यसलाई नियन्त्रण तथा रोक्नका लागि प्रहरीको बाध्यात्मक सक्रियताबाहेक अरू सरोकारवालाले सक्रियता देखाएको पाइँदैन। लागूऔषधको प्रयोग व्यक्तिका लागि मात्रै होइन, सिंगो समाजकै लागि घातक हो। अझै लागूऔषधको दुव्र्यसनीमा बालबालिका फसेको कहालीलाग्दो तथ्यांकले त हाम्रो समाजलाई नै जिस्क्याइरहेको भान हुन्छ।

प्रहरीले बेला–बेलामा सार्वजनिक गर्ने तथ्यांक र त्यसको न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरूलाई मात्रै नियाल्ने होभने समस्याका चाङ लाग्छन्। लागुऔषध दुव्र्यसनीहरूको सुधारका लागि देशका कैयौं गैरसरकारी संस्थाहरूले काम गरे, अहिले पनि कति गरिरहेका छन्। करोडौं रुपियाँ सकियो तर अवस्था जस्ताको तस्तै छ। दुव्र्यसनमा रहेकाहरूलाई प्रहरीले पक्राउ गरे पनि कारबाही गर्न पाउने अधिकार छैन। उमेर नपुगेकालाई मात्रै सुधार केन्द्र पठाउँछ। सुधार केन्द्रमा पुगेकामध्ये पनि कैयौंले फर्केपछि पुनः दुव्र्यसनको बाटो अंगालेको पाइन्छ।

नेपालमा लागूऔषध प्रयोगकर्ताहरू परम्परागत नभई आधुनिक मेडिसिनको प्रयोग गर्ने धेरै रहेको पाइन्छ। गाउँघरमा उत्पादन हुने परम्परागत गाँजा, चरेसभन्दा औषधिजन्य पदार्थको दुव्र्यसनी धेरै छन्। लागूऔषध दुव्र्यसनमा लाग्नेहरू पारिवारिक, सामाजिक र साथीभाइको लहैलहैमा लाग्नेहरू छन्। लागूऔषध दुव्र्यसनीको नियन्त्रण र यसको निवारण राज्यका निकाय वा प्रहरीको मात्रै जिम्मेवारी होइन, हामी सबैको साझा जिम्मेवारी हो। आफ्ना बालबच्चाको विषयमा कम्तीमा सामान्य निगरानी राख्ने हो भने लागूऔषधको प्रयोग गर्नबाट बालबालिका तथा युवायुवतीलाई जोगाउन सकिन्छ।

सुधार केन्द्र र प्रहरीको कस्टडीले मात्रै दुव्र्यसनीको मानसिकता परिवर्तनको कल्पना गर्नु मूर्खता हो। त्यसैले हरेक घर, टोल,समुदाय र हरेक वडा तथा पालिका तहमा लागूऔषध दुव्र्यसनीको विषयमा चर्चा चलाउनु आवश्यक छ। समाजकै कलंकको रूपमा चित्रित हुने यस्तो लागूऔषध दुव्र्यसनीको नियन्त्रणका लागि जनताको नजिकको सरकारले कार्यक्रम बनाउनुपर्छ। आफ्ना बाबालिकाको धेरै विश्वास गर्ने र समय नदिने परिपाटी हरेक परिवारबाट अन्त्य हुनुपर्छ। लागूऔषध प्रयोगको न्यूनीकरण र नियन्त्रणका लागि हरेक नागरिकले आ–आफ्नो तर्फबाट आवाज उठाउँदै चेतनाको बिगुल फुक्नु अहिलेको आवश्यकता हो। समयमै यसलाई रोक्न नसके हाम्रो समाज नकारात्मक बाटोमा अग्रसर हुने निश्चित छ।
– गगन पोख्रेल, प्यूठान।

प्रतिक्रिया दिनुहोस्