बदलाको राजनीति अन्त्य गर



नेत्रविक्रम चन्द ‘विप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि सो पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ। यसअघि पनि प्रहरीले भोजपुरबाट विप्लव माओवादीका कार्यकर्ता तीर्थ घिमिरेलाई गोली प्रहार गरी मारेको थियो। लगत्तै पार्टीले नेपाल बन्द गरेको थियो।

सरकारले अराजक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्धित लगाएपछि बहस नै चलेको थियो। पार्टीलाई छलफलको माध्यमबाट मूलधारको राजनीतिमा नल्याएर स्थिति थप असामान्य बनाएको आरोप लागेको थियो। त्यसै गरी राज्यपक्षबाट विप्लव कार्यकर्ताको मृत्यु हुँदा जनतामा त्रास फैलिएको छ। प्रतिबन्धित पार्टी र राज्यबीच देखिएको द्वन्द्वले देशको अवस्था थप बिग्रार्ने देखिन्छ। राज्य पक्षले कार्यकर्ता मार्ने र पार्टीले बन्द गरिरहँदा दुई तिहाइको सरकार असफलतातर्फ धकलिँदै गएको छ।

सरकारले विकासलाई गति दिन नसक्नु र देशमा बेथिति फैलिरहँदा जनता निराश भएको अवस्था छ। त्यसै गरी, देशमा देखिएको अराजक घटनाले सरकारमाथि जनताको विश्वास घट्दै गएको छ। राज्य र विप्लव नेतृत्वको पार्टीबीच देखिएको बदलाको भावले देशलाई फाइदा पुग्दैन। तसर्थ, सरकारले उक्त पार्टीलाई छलफलमा ल्याएर समाधानको बाटो निकाल्न सक्नुपर्छ। अन्यथा, देशमा अराजकताले प्रश्रय पाउनेछ। अतः बदलाको भावभन्दा पनि सहमति र छलफलको माध्यमबाट समस्या सुल्झाउनतर्फ सरकार गम्भीर हुन आवश्यक छ।
– वीरेन्द्र पण्डित, कास्की।

प्रतिक्रिया दिनुहोस्