फिल्म निर्माणलाई १० लाख छुट्याइएपछि विरोध ‘फिल्म हैन, विकास चाहिन्छ’



विमल विष्ट, डोटी
डोटी जिल्लाको जोरायल गाउँपालिका फिल्मको विवादमा फसेको छ। नायक विराज भट्टद्वारा निर्माणाधीन फिल्म साङ्लोका लागि गाउँपालिकाले १० लाख रुपियाँ विनियोजन गरेपछि स्थानीय आक्रोशित भएका छन्। आक्रोशित स्थानीयले सामाजिक सञ्जालमा समेत व्यापक आलोचना गरिरहेका छन्। गाउँपालिकाको विकासका लागि आएको बजेट गाउँको विकास गर्नुको साटो फिल्मका लागि बजेट विनियोजन गरेको भन्दै यहाँका स्थानीय अध्यक्ष दुर्गादत्त ओझासँग आक्रोशित भएको बताउँदै जोरायलका स्थानीय श्यामबहादुर मल्लले भने– ‘गाउँ–गाउँमा सडक, विद्युत्लगायतका पूर्वाधारको विकास गर्नुको साटो फिल्म बनाउन पैसा किन हाल्नेरु जनतालाई फिल्म हैन, विकास चाहिन्छ।’ जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गत जेठ २७ गते सम्पन्न उनले पाँचौं गाउँसभाबाटै साङ्लोका लागि रकम विनियोजन गरेको दाबी गरे। ‘फिल्मका लागि मैले एक्लै बजेट विनियोजन गरेको होइन। गाउँसभाबाट बजेट विनियोजन गरेको हुँ। मलाई मात्रै दोष किनरु’ –उनले भने।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित अर्थात् हालको नेकपा सम्बद्ध जनप्रतिनिधिको स्पष्ट बहुमत रहेको जोरायल गाउँपालिका, गाउँ कार्यपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले समेत रकम विनियोजन गर्न निर्णय गरेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन्। ‘सबै दलबाट निर्वाचित जनप्रतिनिधिले रकम विनियोजन गर्नका लागि हस्ताक्षर गरेका छन्। अहिले दोष हामीलाई मात्रै लगाए।’ –उनले भनिन्। फिल्मका लागि बजेट विनियोजन गरेको भन्दै आलोचना गर्नेमा नेकपाका कार्यकर्ता र नेपाली कांग्रेस सम्बद्ध सबै रहेका छन्। आलोचनाका विषयमा जोरायल गाउँपालिकाले भने हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि बहु विविधताले भरिपूर्ण जोरायलमा साङ्लो फिल्म छायांकन हुनुले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचार–प्रसारमा टेवा पुग्ने तथा आगामी दिनमा पनि गीत–संगीत क्षेत्रको आकर्षक गन्तव्य बन्न सक्ने भएकाले गाउँपालिकाबाट १० लाख रकम विनियोजन गरिएको ओझाले बताए। ‘विराज भट्टले निर्माण गर्न लाग्नुभएको साङ्लोले जोरायलका विभिन्न पर्यटकीय क्षेत्रलाई समेटेको छ। अहिले पनि छायांकन जारी छ। फिल्ममा जोरायल क्षेत्र समेटिएर विश्वसामु चिनिनु गर्वको विषय हो’, उनले भने– ‘हामीले फिल्मका लागि १० लाख छुट्याएका हैनौं। कलाकारको यातायात र खाना खर्चका लागि विनियोजन गरेको पक्कै हौं।’ अध्यक्ष दुर्गादत्तदेखि स्थानीय बासिन्दाले पनि फिल्ममा भूमिका निर्वाह गरेका छन्।

कतिपले जोरायलमा फिल्म छायांकन हुनुलाई अवसरका रूपमा लिएका छन् भने कतिपयले बजेटको दुरूपयोग भएको बताउँदै आएका छन्। स्थानीय आक्रोशित भई टीका–टिप्पणी गर्न थालेपछि साङ्लो जोरायलमा सुटिङ गर्ने वा नगर्ने भन्ने विषयमा फिल्मका निर्माता दोधारमा परेको स्थानीयबासी बताउँछन्। फिल्मका निर्माता, निर्देशक तथा नायक विराज भट्टले जोरायलमा फिल्मका लागि छुट्याइएको रकम तथा विवादका बारेमा कुनै प्रतिक्रिया नदिने बताए। ‘जोरायलसहित समग्र सुदूरपश्चिमको कला, संस्कृति झल्काउन तथा देशभर चिनाउनका लागि मैले फिल्म निर्माण गर्न लागेकाले गाउँपालिकाको रकम विवादका बारे म केही बोल्दिनँ।’ –भट्टले भने। भट्ट सुदूरपश्चिमको डडेल्धुरा जिल्लाका हुन्।

प्रतिक्रिया दिनुहोस्