राष्ट्रपति रनिङशिल्ड शुरु



हेटौंडा ।
मकवानपुरको नवौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हेटौंडामा सुरु भएको छ ।
प्रतियोगितामा तेक्वान्दोतर्फ रोटरी मावि मनहरीले ३ स्वर्ण जितेको छ । सिद्धार्थ मावि, बालज्योति मावि पिप्ले र सोलिड्यारिटी बोर्डिङले १÷१ स्वर्ण जितेका छन् । करातेतर्फ महेन्द्रकिरण बसामाडीले २, भुटनदेवी, आधुनिक, शिक्षाविकास र महेन्द्र मावि छतिवनले एक÷एक स्वर्ण प्राप्त गरेको खेलकुद विकास समितिले जनाएको छ ।

एथलेटिक्सतर्फका खेलमा ९ स्वर्णको नतिजा आएको छ । जनक माविले ५, प्रभात मावि छतिवन, वंशगोपाल मावि, चन्द्रोदय मावि र सूर्य मावि बागमतीले १÷१ स्वर्ण जितेका छन् । एथलेटिक्समा २६, कबड्डी र भलिबलमा २÷२ र कराते, तेक्वान्दो र उसुमा ६÷६ गरी ४८ स्वर्णका लागि प्रतिष्पर्धा भइरहेको छ ।

प्रतियोगिताको जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । विद्यालय तहबाट क्षमतावान खेलाडी खोजी गर्ने अभियानअन्तर्गत् राष्ट्रपति रनिङशिल्ड प्रभावकारी हुने खुलालले विश्वास व्यक्त गर्नुभयो ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समिति उपाध्यक्ष दीपेन्द्र ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा दश वटै स्थानीय तहबाट विद्यालयको सहभागिता रहेको खेलकुद समिति प्रमुख राजन दाहाल खुशराजले बताउनुभयो । अघिल्लो वर्षको रनिङशिल्ड जनक मावि भिरकोट छतिवनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्