जहाँ आवश्यकता त्यहाँ लायन्स



लायन अशोककुमार श्रेष्ठ
डिष्ट्रिक गर्भनर, डिष्ट्रिक्ट–३२५ बी १ नेपाल

लायन अशोककुमार श्रेष्ठ (५६), लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ १ नेपालका लायन वर्र्ष २०१८÷१९ का डिस्ट्रिक्ट गभर्नर हुनुहुन्छ । श्रेष्ठ विसं २०२० मा पिता स्व. काजीमान र माता विष्णुमाया श्रेष्ठका कान्छा पुत्ररत्नका रूपमा तनहुँको दमौलीमा जन्मनुभएको हो ।

सन् १९८८ मा लायन्स क्लब अफ तनहुँको संस्थापक सदस्य भई लायनवादको यात्रामा थाल्नुभएका श्रेष्ठ लायन्स डिस्ट्रिक्टका विभिन्न पदमा रही कार्यसम्पादन गरी सक्नुभएको छ । लायन वर्र्ष २०१८÷१९ लागि डिस्ट्रिक्ट गभर्नर पदमा निर्वाचित श्रेष्ठको कार्यकाल साता दिन मात्र छ ।

शिक्षा, स्वास्थ्य, बैंकिङ, सञ्चार, उद्योगलगायतका विभिन्न व्यावसायिक प्रतिष्ठानमा नेतृत्वदायी भूमिका कार्यसम्पादन गर्नुभएका श्रेष्ठसँग लायन्स गतिविधिमा केन्द्रित रही नेपाल समाचारपत्रका लागि टंकराज अधिकारीले गर्नुभएको कुराकानी:

डिस्ट्रिक्ट गभर्नरको कार्यकाल सक्दै हुनुहुन्छ, कति सफलता हासिल गर्नुभयोे ?
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको लायन वर्ष २०१८÷१९ को गर्भनरमा निर्वाचित भई सेवा गर्ने अवसर पाएँ । पहिला काठमाडौं, पोखरा लगायतका शहरमा रहेकाहरू मात्र गर्भनर बन्ने चलन थियो । यद्यपि मोफसलमा बस्ने त्यो अवरबाट वञ्चित हुनुपर्ने वाध्यता थियो ।

आखिर म नै त्यही आवाज बुलन्द गर्ने र पहिलो नेतृत्व गर्ने भाग्यशाली गर्भनर भएँ । र, मोफसमा बसेर पनि काम गर्न सकिन्छ भन्ने नजीर स्थापित गरेकोमा गर्व महशुष गरेको छु । यसलाई नै सफलतको कडी मानेको छु । र, यो सफलता क्याविनेटमा रहेर साथ दिने सम्पूर्ण लायन साथीहरूको हो ।

गर्भनर चुनिनेबित्तिकै नयाँ नारा ल्याउने चलन छ, तपाईंको नारा के थियो ?
गर्भनर नयाँ चुनिएपछि नारा पनि नयाँ हुन स्वभाविक हो । सबैलाई फरक र सफल कार्यक्रम गरुँ भन्ने इरादा हुन्छ । मैले पनि ‘लिभिङ बाई गिभिङ’ दिएर बाँचौं भन्ने नारा तय गरी अघि बढेको थिएँ । मेरो कार्यकालमा हाम्रो टिम अपाङ्ग र अशक्त व्यक्तिहरू प्राथमिकतामा राखी उनीहरू सेवामा समर्पित भएको थियो । हामीले अपाङ्गता हाम्रो आत्मियता भनेर काम ग¥यौं, जसबाट सकारात्मक प्रतिक्रिया तथा सफलता पनि हासिल ग¥यौं ।

हाम्रो कार्यकालमा नौं सय भन्दा बढी ह्विलचियर वितरण गरेका छौं । एक हजार ६ सय ह्वाइट केन, सात सय हेयरिङ एड पनि वितरण गरेका छौं । यसले लायन्स अपाङ्ग र अशक्त व्यक्तिको साथी हो भन्ने सन्देश प्रवाह भएको छ । र, हाम्रो नारा ‘लिभिङ बाई गिभिङ’ ले पूर्ण सफलता पाएकोमा हामी विश्वस्त छौं ।

लायन्सले खास कुन क्षेत्रमा के के काम गरेको छ ?
लायन्स सामाजिक संस्था हो । हामी हर क्षेत्रमा क्रियाशील छौं । खास गरी हामीले आवश्यकताको सिद्धान्तलाई आत्मसात् गर्दै ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने हाम्रो स्लोगान नै बनाएर काम गरेका हुन्छौं । देशमा बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्ने र पीडितहरूलाई राहत र उद्धारको काम गर्दै आएका छौं ।

दिनप्रतिदिन वातावरण प्रतिकूल बन्दै गएकाले त्यसतर्फ चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका छौं । साथै वृक्षारोपण गर्ने र विपन्न तथा गरिब विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण तथा छात्रवृत्ति वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रोग लुकाएर बस्ने मानिसलाई उपचारको पहुँच पु¥योने काम भएका छन् ।

उत्कृष्ट डिस्ट्रिक्ट बनाउने मुख्य काम के के गर्नुभयो ?
मुख्यतः यो वर्र्षभरि हामी ‘दिएर बाँचौं’ भन्ने नारा लिएर सामाजिक कार्यमा अघि बढ्यौ । जन्म र मृत्युबीचको जीवनलाई सार्थक तुल्याउन हामी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र फरक क्षमता भएका अपाङ्गता भएका व्यक्तिको सेवातर्फ केन्द्रित भयौं ।

विशेषतः लायन्स वर्ष २०१८÷१९ लायन्सको लागि स्वर्णकाल रह्यो । यस वर्ष हामीले ४२ वटा नयाँ क्लव स्थापना गरेका छौं । त्यस्तै २ हजारभन्दा धेरै नयाँ लायन्स साथीहरुलाई संस्थामा आबद्ध गराउन सफल भयौं । लायन्स क्लब अफ बैंग्लोर ३१७ ‘ए’ भारतको डिस्ट्रिक्टसँग हामीले भगिनी सम्बन्ध स्थापना गरेका छौं ।

लायन्समा नै आबद्ध हुनुको कारण ?
भर्खर टिनएज पार गरेको थिएँ । त्यही बेला साथीहरूको संगतमा विश्वको सबै भन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब हो भन्ने थाहा पाएँ । त्यसपछि लायन्सतपर्फ मेरो झुकाव बढ्यो । अर्को कुरा समाजसेवाप्रति मेरो रुची अधिक थियो । लायन्सका माध्यमबाट समाजसेवाका अतिरिक्त आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्न सकिने देखेर आर्कषित भएको हुँ । त्यतिबेला नारायणगढका लायन साथीहरुको सल्लाह र सहयोगमा लायन्सवादमा मेरो प्रवेश भएको हो ।

सामाजसेवामा लायन्स र अन्य संस्थाबीच के फरक पाउनुभयो ?
त्यस्तो खास अन्तर केही छैन । एउटै गन्तव्यमा पुग्न धेरै मार्ग हुन्छन् । जुन मार्गबाट गए पनि गन्तव्य उही समाज सेवा भएपछि त्यस्तो भिन्नता पाएको छैन । तथापि लायन्स नेटवर्क विशाल छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसको छुट्टै गरिमा छ भन्ने लाग्छ ।

लायन्सतर्फको आकर्षण बढ्नुको खास कारण के हो ?
लायन्सको सदस्यता संख्या वृद्धि हुनुको प्रमुख कारण लायन्स मानवीय सेवामा केन्द्रित हुनु हो । लायन्समा प्रवेश गरेपछि नेतृत्व र क्षमता विकासका लागि विभिन्न प्रकारका तालिम प्रदान गरिन्छ । यसले वृत्ति विकासमा समेत सहयोग गर्दछ । लायन्सवादको काम गर्ने तौरतरिकाले पनि धेरैको आकर्षण बढेको हो ।

लायन्स सदस्यताबापतको मोटो रकम विदेशिएबमोजिम प्रतिफल नपाएको गुनासो छ नि ?
यो अन्तर्राष्ट्रिय संस्था हो । प्रत्येक वर्र्ष हामीले नियमित सदस्यता वापत रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैकमा रहेको लायन्स अन्तर्राष्ट्रिय खातामा जम्मा गर्नुपर्ने प्रावधान छ । तर त्यो रकम नेपालमै रहन्छ । लायन्स क्लबको अगुवाइमा सञ्चालन हुने परियोजना लागि लायन्स क्लबबाट अनुदान स्वीकृत हुन्छ । र, सोही रकम खर्च गर्ने प्रावधान छ ।

नेपाली रकमको निर्यात हुँदैन । नेपालमा अन्धोपन, निवारणको लागि लायन्स अन्तर्राष्ट्रियले ठूलो रकम सहयोग गर्दै आएको छ । प्रत्येक वर्र्ष नेपालका ४ वटा डिष्ट्रिकलाई स्टान्डर्ड ग्रान्ट अन्तर्गत विभिन्न स्थायी परियोजनाका लागि २÷२ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्दै आएको छ ।

त्यस्तै नेपालका विभिन्न ठाँउमा सञ्चालित लायन्स अस्पतालहरूमा आर्थिक सहयोग भइरहेको छ । नेपालमा फैलिने विभन्न प्रकारका महामारी जस्तैः मिजेला रुवेला नियन्त्रणका लागि नेपाल सरकार मार्फत ठूलो रकम सहयोग प्रदान गरेको थियो । त्यस्तै भूुकम्पबाट क्षतिग्रस्त विधालयहरूको पुनःनिर्माणका लागि झण्डै ५४ करोड सहयोग प्राप्त भएको छ । यो हेर्दा हामीले तिरेको लेवीभन्दा कयौं गुणा रकम नेपाल भित्रिएको छ ।

लायन्समा नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको देखिन्छ, किन ?
जुनसुकै संस्थालाई अघि बढाउनका लागि सवल र सक्षम नेतृत्वको आवश्यकता पर्दछ । हाम्रो संस्थामा स्वस्थ प्रतिस्पर्धाबाट प्रजातान्त्रिक ढंगले नेतृत्व चयन हुने गर्दछ । लायन्स क्लब यस्तो सामाजिक संस्था हो कि यसभित्र राजनीतिक धार्मिक, जातिय लैङ्गिक भेदभाव हुँदैन त्यसैले पनि नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । संस्थाको विकास र विस्तारका लागि क्षमता भएको व्यक्ति नै चुनिएर नेतृत्वमा आउने हो । लायन्सले चुनेर नेतृत्वमा पठाउने हुन् ।

अन्त्यमा केही भन्नु छ कि ?
सामाजिक भावनाको जागर फैलाउन लायन्सको योगदान महत्वपूर्ण छ । मानवीय सेवामा लागिएन भने मानवीय चोला सार्थक हुँदैन । सामूहिक नेतृत्व र क्षमता विकास गरी सामाजिक कार्यक्रमा क्रियाशील गराउने लायन्सवादको मन्त्र मुक्तकण्ठले प्रशंसा गर्दछु । मानवसेवाका लागि लायन्समा आबद्ध हुन आम युवाहरू आव्हान गर्दछु । र अन्तमा हामी लायन्स हौं लायन्स हुनुमा हामीलाई गर्व छ । जय लायन्स !

प्रतिक्रिया दिनुहोस्