ऐना हेरौ



कुनै पनि व्यक्ति संसद, मन्त्री वा कुनै विशिष्ठ तहको कुर्चीमा बस्ने पात्र हुँदैमा ऊ माननीय र सम्मानीय हुँदैन भन्ने कुरो धरहराले बुझेको वर्षौ भयो । तर अहिलेको मन्त्री परिषद्का केही सदस्य आफूलाई माननीय र सम्माननीय मात्रै होइन त्यो भन्दा अझ विशिष्ठ शब्दले पुकार्न आग्रह ग¥या ग¥यै छन् ।

मन्त्रीज्यूहरको कार्यशैली आलोचना गर्नै नहुने रे, रातदिन गुनगान गाउनुपर्ने रे । जनताको अमूल्य मतबाट निर्वाचित भन्न रुचाउने अनि सिंहदरवार छिरेपछि आलोचना सहन नसक्ने अचम्मै छ भन्या । कुर्ची उस्तो भएर हो कि कुर्ची राखिएको कोठा उस्तो भएर हो मन्त्रीज्यूहरुले आलोचना त निकै खेप्नु प¥या छ ।
केही मन्त्रीहरुलाई त ऊ बेलाको पञ्चायतकालिन कुर्ची नै परेर पो हो कि उनीहरुको कार्यशैली र टिप्पणी सुन्दा पञ्चायतको झल्को आउँछ ।

जनता भन्दा माथि कोही हुँदैन भन्ने अनि जनतालाई नै आक्रोश पोख्ने यो त अलि हजम भएन है ! प्रतिपक्षीले त आलोचना गर्छन् उनको स्वभावै यस्तै हो क्यार । स्वयं सत्तापक्षकै नेता कार्यकर्ताले निरन्तर आलोचना गर्न थालेसी मन्त्री महोदयहरुले पनि यसो कहिले काहिँ कति बदलिएछु भन्दै ऐना पो हेर्ने कि ?
चुनाव फेरी नहुने हो भने त मन्त्रीज्यूहरुले दम्म र घमन्डको पहाड अझै बढाए हुन्छ । तर के गर्नु, दुई तीन वर्षमा चुनाव त हुन्छ क्यार !

प्रतिक्रिया दिनुहोस्