नेपालको झण्डा फरफराउन पाउँदा खुशीले रोएँ



अजितकुमार यादव
एथ्लेटिक्स धावक

राजविराज सप्तरीको एक विकट गाउँमा जन्मेका वहाँले १७ वर्षको उमेरमै अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्नुभयो । नेपाली एथ्लेटिक्सको इतिहासमा यसरी स्वर्ण पदक जित्ने वहाँ पहिलो धावक हुन्। वहाँ हुनुहुन्छ अजीतकुमार यादव ।

गत वर्ष चैतमा यादवले हङकङमा भएको युथ एशियन एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत ३ हजार मिटरमा स्वर्ण पदक जित्नुभयो । वहाले ८ मिनेट ३० सेकेण्डको जुनियरतर्फ कीर्तिमानी समय निर्धारण गर्नुभएको हो । अहिले यादव १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि प्रशिक्षण क्याम्पमा हुनुहुन्छ । प्रस्तुत छ वहाँसँग फिरोज राजोपाध्यायले गरेको अन्तर्वार्ता ।

१३औं सागको लागि तयारी कस्तो भइरहेको छ ?
राम्रो भइरहेको छ । दुई शिफ्टमा प्रशिक्षण भइरहेको छ । आफ्नै घरेलु भुमिमा हुने भएकोले पनि तयारी राम्रो गरिरहेको छु ।

पदकको आशा गर्न सकिन्छ ?
उत्कृष्ट देखाउने चाहना हो । शरीर हो प्रदर्शन तलमाथि भइरहन्छ । अहिले बेसिकदेखि नै प्रशिक्षण गरिरहेको छु । त्यसैले पदक जित्ने पनि मनमा छ । के हुन्छ भन्नै सकिन्न । तर समय भने सुधार गर्ने लक्ष्य भने छ ।

सागका लागि राष्ट्रिय टिममा पछि मात्रै राखियो । किन ?
खोई किन हो थाहा भएन ? पहिला त नामै नभएको मिडियाबाट थाहा भयो । शायद हालै सम्पन्न राष्ट्रिय खेलकुदमा सहभागि नभएर हो कि ? म युथ एशियनमा खेल्न गइरहँदा राष्ट्रिय खेलकुदमा भाग लिन पाएन। नाम नहुदा त निरासै भइसकेको थिएँ । तर ढिलै भए पनि राष्ट्रिय टिममा प¥यो निकै खुशी लागेको छ। यसका लागि मैले धेरै मिहिनेत गरेको छु ।

नेपालमै मात्रै अभ्यास गरेर प्रदर्शनमा सुधार होला त ?
हुन त नेपालमै अभ्यास गरेर पनि मैले देशबाहिर स्वर्ण जिते। तर भन्नै पर्दा बाहिर गएर पनि प्रशिक्षण लिन पाए त्यो अझै खेलाडीको लागि राम्रो नै हुन्छ । बाहिर र यहाँको ट्रयाक देखि लिएर सबै फरक छ ।

हङकङमा भएको प्रतियोगितामा स्वर्ण जित्नुको रहस्य के हो ? यति ठूलो सफलताको आशा गर्नुभएको छ ।
रहस्य भन्दा पनि स्वर्ण जित्ने कुनै आस थिएन। केवल पदककै मात्रै लक्ष्य थियो । तर स्वर्ण जित्न पनि धेरै दुःख पाएँ त ।

कस्तो दुःख ?
हङकङमा प्रतियोगिता हुन अगाडि नै जानुपर्ने थियो । तर भिसा आउन ढिलो भयो। १५ तारिखमा प्रतियोगिता शुरु भयो भने म र प्रशिक्षक गुरु (धनीराम चौधरी) १६ तारिखमा पुगेको थिएँ । १७ तारिखमा त मेरो दौड स्पर्धा थियो । पानी समेत पिउन पाएको थिएन। किनभने होटल खोज्दा खोज्दै नै समय गएको थियो।

कसरी दौडन आफुलाई तयार गर्नुभयो त ?
भोलि दौड भयो आज राति निन्द्रा पनि लागेको थिएन। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो मेरो। यस्तै यस्तै सम्झिँदै रात बिताए। पछि जे हुन्छ हुन्छ भनेर सुत्न कोसिस गरेँ । डर त लागिरहेको थियो । बेहान भयो ट्रयाकमा वार्म अप गर्न स्टेडियम गएँ । त्यहाँको ट्रयाक सिन्थेटिक देखियो । यहाँ नेपालमा माटोमा दौडिरहेको त्यहाँ सिन्थेटिकको ट्रयाकमा दौडनु पर्ने भयो । वार्म अप गर्दा गर्दै चीनको राष्ट्रिय धुन बजेको थियो । मलाई त्यतिखेर नै लाग्यो मैले केही न केही गर्नुपर्छ अनि मात्रै त्यहाँ नेपालको राष्ट्रिय गान बज्नेछ । वार्म अप गर्दा गर्दै पदकको लक्ष्य दिमागमा आइसकेको थियो ।

स्वर्ण जित्नका लागि के ले प्रेरणा दियो त ?
हुन त पदक मात्रै जित्ने आशाले दौडे। तर दौडिने अगाडि मेरा गुरु (धनीराम चौधरी) ले ८ मिनेट ३० सेकेण्डको समय लक्ष्य दिनुभएको थियो । वहाँले तिमीले जित्न सक्छौ । पहिला अरुको क्षमता हेर त्यसपछि विस्तारै आफुलाई तयार गर्दै लैजानु भन्नुभयो । दौड्दा दौड्दै मलाई वहाँको वचन पनि दिमागमा आइरह्यो । मैले पहिलो ल्याप सकाउँदा १ मिनेट ८ सेकेण्ड समय लाग्यो ।यो त निकै स्लो भएको मैले महसुस गरे । यो राउण्ड पछि नै मेरो डर पनि हराइसकेको थियो ।

अनि ?
प्रतिस्पर्धीहरुको दौडने क्षमता मैले बुझेँ । यसपछि नै मलाई स्वर्ण जित्ने सक्ने मनमा आयो । हुन त कहिले अगाडि कहिले पछाडि भइरहे । भारतीय धावकहरुले भने मलाई बाधा तुल्याउन कोसिस गरिरहे । अन्तिम तीन राउन्डमा भने मैले गति बढाए । यही नै अरुहरु निकै पछाडि (शायद ५० मिटर जति) हुन थाले । यसैमा मैले स्वर्ण जित्ने पक्का भएको थियो । पुरै स्टेडियम समर्थकको भीड थिए तर मलाई हौसला दिनेमा मात्र मेरा गुरु मात्रै हुनुहुन्छ।

कस्तो महसुस भयो स्वर्ण जित्दा ?
स्वर्ण जित्नुको खुशी नै अर्को हुँदो रहेछ। मैले नेपालको झण्डा फरफराउन पाउँदा र नेपालको राष्ट्रिय गानको धुन बजाएको सुन्दा गर्वित महसुस गरे । म खुशीले रोएँ पनि । यो क्षण जस्तो कहिले भएको छैन । रमाईलो खुशी र गर्वले छाती चौडा भएको थियो । फेरि मैले गुरुले भन्नुभएको अनुसार ८ मिनेट ३० सेकेण्डमै दौड सकाएको थिएँ । यो जुनियर ३ हजार मिटरमा राष्ट्रिय कीर्तिमान समेत निर्धारण भएको छ ।योभन्दा खुशी अरु के होला ?

नेपाल फर्कदा स्वागत पनि निकै भयो । यस्तौ कहिले कल्पना गर्नुभएको थियो ?
छैन यस्तो क्षणको कल्पना नै थिएन। म त्रिभुवन विमानस्थलमा पुग्दा मलाई स्वागत गर्न संघ र खेलाडी साथी परिवार नै आउनुभएको थियो। मलाई अन्तर्राष्ट्रिय स्तरमा खेलाउन पहल गर्नुभएको गुरु (सुनील राजवंशी) ले पहिलो बधाई दिनुभएको थियो । मलाई अबीर फूलको माला लगाइदिदा म अझै रोएँ खुशीले ।

पहिले देखि नै दौडमै लाग्नुभएको हो ?
होइन, म पहिला फुटबल खेल्थे। म फुटबलको यति क्रेजी थिएँ कि बल समातेर नै सुत्थे । फुटबलर बनेर राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्ने इच्छा थियो। तर त्यो पुरा भएन ।

कसरी फुटबल छुट्यो त ?
कक्षा ८ पढिरहँदा एपीएफ स्कूलमा स्पोर्टस् डे भएको थियो । मलाई मेरा दाजु (सुजीत कुमार यादव) ले ८ सय मिटर दौडमा नाम लेखाइदिनुभयो । मन त थिएन तर दाइले भन्नुभएपछि मान्नै प¥यो । वहाँले तिमीले जित्न सक्छौ भन्नुभयो । तर अचम्म म पहिलो नै भएँ । स्कूलका टिचर र अन्य समेत छक्क परेका थिए। यहीबाट मेरो फुटबल छुटेको थियो ।

मन निरास भएन र फुटबलर हुन नपाउँदा ?
अलिकति पनि भएन । मैले फुटबल खेल्दा केही पाएन। जब दौडन शुरु गरेँ मैले नाम कमाएँ । अझ दाम पाउँदा त फुटबललाई बिर्सन पुगे । २०७१ सालमा शिक्षा दिवसको अवसरमा रंगशालामा ५ किलोमिटर दौडमा सहभागि भएको थिएँ । त्यसमा म तेस्रो भएँ र ५ हजार नगद पुरस्कार प्राप्त गरेँ । दाम पनि पाएँ फेरि पत्रपत्रिकामा मेरो नाम पनि आउँदा फुटबललाई मैले आउट गरे ।

राष्ट्रिय खेलाडी बन्न कति संघर्ष गर्नुभयो ?
संघर्ष त गरेँ । न मसँग प्रशिक्षक हुनुहुन्छ । न मसँग समय नै हुन्छ। त्यसैले पनि ७२ सालमा पोखरामा भएको राष्ट्रपति रनिङ शील्डमा कुनै पदक प्राप्त गर्न सकेन। यो जुनियर राष्ट्रिय खेलकुद हो । मैले ५ हजार मिटर दौड बीचैमा छाडे भने १५ सय मिटर दौडमा चौथो स्थान हासिल गरेँ । करियरमा पहिलो हार पाउँदा एकदम निरास भएको थिएँ ।

प्रशिक्षक विना पछि कसरी उत्कृष्ट हुनुभयो ?
मैले पोखराको असफलतामा इख राखेँ । विजेताहरुले झुण्ड्याएको पदक देखेर मलाई इख आयो कि अर्को पटक म पहिला हुन्छु भनेर । काठमाडौं फर्के । तर प्रशिक्षक त छैन । बेहान त केही अभ्यास हुन्छ। तर साँझमा अभ्यास गर्न पाउँदैन। स्कूलको नियममा बस्नुपरेकोले राति १२ बजे उठेर अभ्यास गर्न थालेँ । ७३ सालमा राष्ट्रपति रनिङ शील्डमा १५ सय मिटरमा कीर्तिमानी समयका साथ जितेँ । मैले१३ वर्ष लामो समय चलेको कीर्तिमान तोडेको थिएँ । ३ हजार मिटरमा पनि पहिलोभएँ ।

तर प्रशिक्षक विना कसरी यति अगाडि बढ्नुभयो ?
त्यसो त मलाई त्यो बेला स्कूलका खेलकुद इन्चार्ज मनोज गिरी दाजु, गोपीचन्द्र पार्की दाई, गुरु रघुराज वन्तजीले सहयोग गर्नुभएका थिए। गोपी दाईको सहयोगमा मैले वहाँकै कीर्तिमान २०७४ मा भंग गरेको थिएँ । गुरु रघुराजजीले मलाई ५–६ महिना जति प्रशिक्षण दिनुभएको थियो ।

यसै वर्ष म राष्ट्रिय टिममा समेत परेको थिएँ । पछि माघमा मैले गुरु धनीरामजीलाई भेटेको थिएँ । वहाँसँग भने मैले जीवनभर प्रशिक्षण लिनेछु । अहिले वहाँले नै मलाई प्रशिक्षण दिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्