गुठियार दोस्रो चरणको आन्दोलनमा



सुनील महर्जन, काठमाडौं
गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी राख्नुपर्ने भन्दै आन्दोलनकारीहरू दोस्रो चरणको आन्दोलनको गृहकार्यमा जुटेका छन्।

व्यापक विरोधपछि सरकारले विधेयक फिर्ता लिए पनि बुधबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका गुठियार, सम्पदाप्रेमी र सांस्कृतिक अभियन्ताहरू दोस्रो चरणको आन्दोलनको स्वरूप र रणनीति तयार गर्ने प्रयोजनले बिहीबार भेला भएका थिए।

विधेयक फिर्ता लिएको घोषणा मात्र आन्दोलनको रोकिनुका लागि पर्याप्त आधार नभएको भन्दै उनीहरूले मन्त्रिपरिषद्ले निर्णय गरेर विधेयक नै खारेज गर्नुपर्ने माग सारेका छन्।

‘मन्त्रीको भाषामा विधेयक त्रुटिपूर्ण रहेको अझै स्वीकार गरिएको छैन। फिर्ता लिन औपचारिक प्रक्रिया थालिएको छैन। जनतालाई झुक्याउन मात्र फिर्ता लिएको भनिएको छ। गुठी परम्परामा गुठीयारको अधिकार, स्वामित्वका लागि अझै आन्दोलनकारीको खाँचो छ’ –गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक डा. महेशमानले भन्नुभयो।

विधेयकविरुद्ध संघर्ष गर्न ललितपुरमा गठित संघर्ष समिति पनि दोस्रो चरणको आन्दोलनका लागि तयारीमा जुटिरहेको छ। ‘विधेयक फिर्ता लिने मात्र होइन, खारेज नै गर्नुपर्दछ। संघर्ष समितिका सचिव एवं ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भन्नुभयो। दोस्रो चरणको आन्दोलनको तयारीमा जुटिरहेका बताउँदै अध्यक्ष ताम्रकारले भन्नुभयो– ‘यस विषयमा गुठी विज्ञ, कानुन विज्ञसँग सल्लाह गरिरहेका छौं।’

सरकारको निर्णय शंकास्पद रहेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठको भनाइ रहेको छ– ‘अबको लडाइ वार कि पारमा परिणत हुन्छ। हामीले अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका छौं।’

अबको आन्दोलन गुठी विधेयकमा मात्र सीमित नरहने श्रेष्ठले संस्कृति र परम्परामाथिको खतरा नहटेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्