६ करोडका खानेपानी योजना निर्माण हुने



किरन धामी, दार्चुला । दार्चुला जिल्लामा प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६÷०७७ मा ६ करोड २१ लाख ५० हजारका खानेपानीका योजनाहरु निर्माण गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले दार्चुलाका विभिन्न स्थानिय तहमा खानेपानीका योजनाहरु निर्माणका लागी उक्त रकम विनियोजन गरेको हो । जिल्लामा अगामी आर्थिक वर्षमा प्रदेश सरकार मार्फत ३० वटा खानेपानीका योजनाहरु निर्माण हुने खानेपानी तथा सरसफाई डिभीजन कार्यालय नं १ बैतडीका निमित्त प्रमुख प्रकाश रावलले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाई फिल्ड कार्यालय दार्चुला मार्फत समिति गठन गरेर योजना निर्माणको काम थालीने उहाले जानकारी दिनुभयो । योजनाहरुको भुक्तानीका लागी भने खानेपानी तथा सरसफाई डिभीजन कार्यालय नं १ बैतडी आउनु पर्ने उहाले बताउनु भयो । दार्चुला विभिन्न बस्तीहरुमा खानेपानीको पहुँच पुर्याउन प्रदेश सरकारले बजेट विनियोजन गरेको उहाले बताउनुभयो ।

दार्चुला जिल्लामा प्रदेश सरकार मार्फत ३० तथा केन्द्र सरकार मार्फत ८७ वटा खानेपानीका योजनाहरु निर्माण हुने निमित्त डिभिजन प्रमुख रावलले जानकारी दिनुभयो । जिल्लाका लेकम, दुहुँ, मालिकार्जुन, नौगाड, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका विभिन्न स्थानमा प्रदेश सरकारले खानेपानीका योजनाहरु निर्माण गर्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्